कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन हुँदैन- महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।
आज (बिहिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए । ‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छु,’ उनले भने । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सात बुँदे समझदारी पालना गरिने उनले बताए ।
पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने गरेर सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताए ।