सिमलताल पहिरो- २३ जनाको शव फेला, ९ जनाको सनाखत हुन बाँकी
काठमाडौँ । गत असार २८ गते सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये हालसम्म २३ जनाको शव फेला परेको खबर प्राप्त भएको छ ।
प्रहरी रिर्पोटका अनुसार २३ मध्ये १४ शवको सनाखत भएको र अझै ९ जनाको सनाखत हुन बाँकी छ रहेको छ । सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव सनाखत भएको प्रहरीले जनाएको छ ।
असार २८ गते शुक्रवार बिहान वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरको लागि गएको बाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीन जनाले आफुलाई बचाएका थिए भने अझै कम्तिमा ३९ यात्रु बेपत्ता रहेका छन् ।