पोखरा रोयल सहकारीले ९.९९ ब्याजदरमै १० वर्षसम्मको लागि १ करोडसम्म लगानी गर्ने
काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिशन १०० अन्तर्गत सिंगल डिजिटमै १ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमै १० वर्षसम्म अवधिको लागि १ करोड रुपैयाँसम्म लगानी गर्ने भएको हो । यो अभियान १०० दिनसम्म सञ्चालन हुने संस्थाले जनाएको छ । १ वर्षसम्म ब्याजदर बढेको अवस्थामा पनि नबढाउने गरी संस्थाले यो अभियान सुरु गरेको हो । तर, ब्याजदर घटेको अवस्थामा भने ९.९९ प्रतिशतबाट पनि घट्ने संस्थाको मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिए । पछिल्लो समय संस्थामा तरलता थुप्रिएको छ । २०८१ असार मसान्तमा संस्थामा ३७.४६ प्रतिशत (७१ करोड ७३ लाख बढी) तरलता छ । तरलता व्यवस्थापन गर्नकै लागि मिशन १०० अभियान सुरु गरेको ढकालको भनाई छ । संस्थाले यस अघि (२०७९) सालमा बचत बृद्धि गर्ने उद्देश्यले मिशन १०० अभियान चलाएको थियो । लामो समयसम्म कोरोनाले थलिएको जनजिवन, रुस युक्रेन युद्धको विश्वव्यापी असर र आर्थिक मन्दी आदि कारणले नेपालको वित्तीय क्षेत्रले तरलता अभावको सामना खेपिरहेको थियो । सोही समयमा संस्थामा पनि तरलता कम हुँदै गएपछि मिशन १०० अभियान चलाएर तरलता व्यवस्थापन गरेको थियो ।
त्यस समयमा संस्थाले १०० दिने आवधिक बचत (मुद्धती) खाता सञ्चालन, ऋण प्रवाह केही समयलाई बन्द गरि असुलीलाई तीब्रता, १०० दिनमा १० हजार जनालाई सम्पर्क, समितिदेखि व्यवस्थापनका सबैलाई टारगेट, सयौं भेटघाट र रणनीतिक बैठकहरु, हरेक दिन दैनिक प्रगति र हरेक हप्ता साप्ताहिक प्रगतिको रिपोर्टिङ, यस अभियानमा सरिक हुने सदस्यलाई मोवाईल बैकिङ, एटिएम, एस एम एस सेवा, क्यू आर कोडको सेवा निःशुल्क, १०० दिने योजनामा कम्तिमा १ लाखको बचत राख्नुपर्ने र १०० दिनमा १० करोड निक्षेप संकलन गर्ने महत्वकांक्षी लक्ष्यसहित काम गरेको थियो । तरलता वृद्धिको लागि एउटा सञ्जीवनी वुटी जस्तै सावित भएको अनुभव ढकाल सुनाउँछन् । ‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पना साथ २०५९ जेठ ८ गतेबाट सदस्य सेवामा पोखरा रोयल साकोस समर्पित छ । वित्तीय सुरक्षा, सुशासनमा र समृद्धिमा संस्थाको ध्यान केन्द्रीत छ । सधै नवीन सोच र कार्यक्रममार्फत संस्था, समुदाय र अभियानलाई अभिप्रेरित गरिरहने संस्थाको रुपमा पोखरा रोयल परिचित छ ।
२०८१ असार मसान्तसम्म संस्थामा ९ हजार ३ सय ६५ जनाको १५ करोड २ लाख ४० हजार रुपैयाँ सेयर रहेको छ । संस्थाको जगेडा कोषमा मात्रै १९ करोड ९४ लाख १३ हजार २ सय ७५ रुपैयाँ छ । २ अर्ब ५२ करोड १८ लाख ४५ हजार ९ सय ८२ रुपैयाँ कूल सम्पत्ती रहेको संस्थाको संस्थागत पुँजी १९ करोड ९४ लाख १३ हजार २ सय ७४ रुपैयाँ रहेको छ । त्यस्तै विभिन्न कोषहरुमा ११ करोड २० लाख ९७ हजार ५ सय ३ रुपैयाँ रहेको छ । १ अर्ब ९१ करोड ४९ लाख ७ सय ६९ कूल बचत रहेको संस्थाको लगानी १ अर्ब ६७ करोड ४६ लाख १२ हजार २ सय ३४ रुपैयाँ लगानी रहेको छ । संस्थासँग ७१ करोड ७३ लाख ७९ हजार ९९६ रुपैयाँ (३६.४६ प्रतिशत) रुपैयाँ तरलता रहेको छ । संस्थामा अत्याधिक तरलता थुप्रिएपछि संस्थाले कर्जा लगानीको मिशन १०० सुरु गरेको हो ।