समितिद्वारा हवाई सुरक्षा मापदण्डबारे छानबिन गर्न सरकारलाई निर्देशन
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भए रनभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज ( बिहीबार ) बसेको समितिको बैठकमा सरोकारवालासँगको छलफलपछि समिति सभापति राजकिशोर यादवले मन्त्रालयलाई यस्तो निर्देशन दिएको जानकारी दिए । समितिले १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न स्वतन्त्र छानबिन समिति गठन गर्न समेत निर्देशन दिएको छ । साथै यसअघिका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित प्रतिवेदनहरू उपलब्ध गराउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले २०८० साल पुस ५ गते हवाई सुरक्षाबारे सरकारलाई समितिले दिएको निर्देशन कार्यान्वयन नभएकाले कार्यान्वयनका लागि स्मरण गराएको छ । नेपाल हवाई नीति २०६३ देखि कार्यान्वयनमा आएपनि हवाई उड्डयन सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न निर्देशन दिएको सभापति यादवले जानकारी दिए ।
समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेस गर्नर गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
















