षड्यन्त्रविरुद्ध जुनसुकै तहमा जानुपरे पनि तयार रहनू : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको षड्यन्त्रविरुद्ध जुनसुकै तहमा जानु परे पनि तयार रहन अपिल गरेका छन् । राति पार्टी कार्यालय वनस्थली पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्ना लागि नभएर नयाँ जन्मिँदै गरेको आशालाई जोगाउन एक ठाउँमा उभिनुपर्ने बताए । आम सर्वसाधारण दिदीबहिनी दाजुभाइहरूलाई यो तहको षड्यन्त्रका विरुद्ध जुनसुकै तहमा जानुपरे पनि न्यायका लागि सत्यका लागि तयार रहनका निम्ति म अपिल गर्न चाहन्छु ।
मेरा लागि होइन, व्यक्तिका रूपमा रवि लामिछानेलाई बचाउनुपर्दैन, तर नयाँ जन्मिँदै गरेको यो आशा यो भरोसालाई चाहिँ जोगाउनुपर्छ साथी हो, उनले भने । उनले आफू राजनीतिक र नैतिकरूपमा जुनसुकै ठाउँमा सत्यका लागि लड्न तयार रहेको पनि बताए । तर, षड्यन्त्र गरेर लडाउने प्रयास भए प्रतिवाद गर्ने उनको चेतावनी छ । म सरकारलाई चेतावनीका साथ भन्न चाहन्छु, षड्यन्त्र गरेर समाउने होइन, षड्यन्त्र गरेर लडाउने होइन । आँट भए, हिम्मत भए आऊ, लैजाऊ, समाऊ । तर, मिडिया ट्रायल गरेर, हेडलाइन लेखाएर तर्साउन त सक्नुहुन्न मलाई, सक्दै सक्नुहुन्न ।