राजमार्गका होटलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय
काठमाडौँ । सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाँसो देखाएको छ ।
सो मन्त्रालयका मन्त्री दामोदर भण्डारीले देशैभरका मुख्य राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो विगतदेखिको नै भए पनि पछिल्लो समय झनै बढेको बताए । उनले यसअघि नै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई सचेत गराइ सकेका छन् । “मुख्य राजमार्गमा होटलहरुले यात्रुमाथि लुट मचाएका छन्, विगतमा कसैले कारबाही प्रक्रिया अगाडि नबढाए पनि म यसमा ‘एक्सन’ लिने तयारीमा छु, होटलहरुको मनपरी छ, सार्वजनिक यातायात सञ्चालकको पनि यसमा मिलेमतो प्रष्टै देखिन्छ, यो कुरा सह्य हुँदैन, एकान्तमा वा जङ्गलमा होटल खोलेर यात्रु ठग्ने कुरा पाच्य छैन, मन्त्रालय कारबाहीका लागि अगाडि बढ्नुपर्ने अवस्था आइसक्यो”, चेतावनी दिँदै मन्त्री भण्डारीले भने ।
शुक्रबार मन्त्रालयमा आयोजित होटल तथा रेष्टुरेन्ट व्यवसायीसँगको एक कार्यक्रममा उनले अब राजमार्गमा होटल चलाउने भए प्रष्ट रुपमा सबैले देख्ने गरेर मूल्यसूचि राख्नुपर्ने बताए । मूल्यसूचि नराखेर यात्रु ठग्ने मनसाय भए उहाँले त्यस्ता होटललाई बन्द गरिने चेतावनी दिए । मन्त्री भण्डारीले भने, “खाना तथा नास्ता खाने ठाउँमा राजमार्गका होटलवाला र यातायात सञ्चालकले चर्को मूल्य असुलेर नराम्रो व्यवहार गर्ने गरेको व्यापक जनगुनासो मन्त्रालयमा आएको छ, गुनासोकै आधारमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।”
वाणिज्य मन्त्रालय र मातहतका निकायमा राजमार्गका होटलमा यातायात सञ्चालक तथा होटलहरुको मिलेमतोमा यात्रुमाथि लुट मचाएको भन्ने व्यापक जनगुनासो बढेकाले छिट्टै सो मन्त्रालयको अगुवाइमा समस्या समाधानका लागि सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित बैठक राखिने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।