नेपालको श्रीलंकामाथि शानदार जित

काठमाडौं। साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो । इन्जुरी समयमा रश्मीकुमारी घिसिङले गोल गरेसँगै नेपालले ६–० को जित निकालेको हो । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन् । सविता रानामगर, सावित्रा भण्डारी (साम्बा), अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान एक गोल थपे । नेपालले खेलको पहिलो हाफमा चार गोल र दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको पहिलो मिनेटबाटै आक्रमण बुनेको नेपाललाई आठौँ मिनेटमा सविताले अग्रता दिलाइन् । सावित्राले राइट साइडबाट दुई श्रीलंकन रक्षकलाई बिट गर्दै निकालेको क्रसमा सविताले ‘फस्र्ट टच’ गोल गरिन् । सावित्रालाई मध्यभागबाट सरु लिम्बुले पास मिलाएकी थिइन् । १२औँ मिनेटमा सावित्राले नै नेपालको अग्रता दोब्बर बनाइन् । सावित्राले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारमा उत्कृष्ट गोल भएको थियो । त्यसको अर्को मिनेटमै नेपालले तेस्रो गोल गर्यो । नेपालकी रेखाले खेलको गोल गर्दै घरेलु समर्थकमाझ अग्रतालाई ३–० मा राखेकी हुन् ।

लेफ्ट साइडबाट अमिषा कार्कीले निकालेको क्रसलाई रेखाले भली प्रहार गर्दै जाली चुमाइन् । ३६औँ मिनेटमा रेखाले नेपालको तर्फबाट चौथो गोल गरिन् । बक्सबाहिरबाट सावित्राले गरेको प्रहार ६ यार्ड बक्समा रहेकी रेखालाई ‘डिफ्लेक्ट’ हुँदै गोल भएको हो । दोस्रो हाफको सुरुआतमै अमिषाले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाइन् । सविताले निकालेको क्रसमा अमिषाले हेडर गोल गरेकी हुन् । यस्तै, इन्जुरी समयमा रश्मीले हेडर गोल गर्दै नेपालको ६–० को जित पक्का गरिन् । अनिता बस्नेतको कर्नरमा रश्मीले हेडर गोल गरेकी हुन् । प्रतियोगिताको समूह विजेता बन्न नेपाललाई आज ६ गोलअन्तरको जित आवश्यक थियो । आवश्यकता अनुसारको जित निकालेसँगै नेपालले गोलआधारमा भुटानलाई पछि पारेर समूह विजेता बनेको हो । समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट ७ अंक जोडेको छ । दोस्रो स्थानको भुटानले पनि सातै अंक जोडेको छ । तर, भुटान गोलआधारमा पछि परेको हो । श्रीलंका तीन अंक जोड्दै तालिकाको तेस्रो स्थान रहेर प्रतियोगिताको अन्त्य गरेको छ । नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता भारतसँग आगामी आइतबार खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *