धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले विभिन्न क्षेत्रमा एक अर्ब बराबरको क्षति पुर्‍याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ ।

आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्ब बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाइएको हो ।

सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेको थियो । नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपद्पछि पुनः निर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताए । उनका अनुसार ध्यानाकर्षण पत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्द्रसमेतको पुनः निर्माणका लागि ध्यानाकर्षण गराइएको छ ।

नगर कार्यालयका अनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नं १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा बर्सातका कारण धेरै क्षति भएको छ भने ८ र ११ नं वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले भने कात्तिक पहिलो साताको बैठकले सिङ्गो काभ्रेपलाञ्चोकलाई नै सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा र पाँच सय ७२ घर आंशिक क्षति भएका छन् ।

यसैबीच बाढी पहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनः निर्माणको लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरले नेपालका लागि जर्मनी राजदूत शनिबार डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनः निर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरले जनाएको छ ।

भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनः निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख ब्यान्जूले बताए । उनका अनुसार गत असोज दोस्रो साताको बाढी पहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका छन् ।

उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा दुई करोड चार लाख क्षति भएको जनाइएको छ । बाढीपहिरोबाट नगरको दश वटा वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपंक्षी तथा केही वडामा मानवीय क्षति पुगेको थियो । उक्त घटनामा दुई जनाले ज्यान गुमाएका थिए एक महिला अझै बेपत्ता अवस्थामा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *