एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको छ । एएफसीले वार्षिक अवार्ड कार्यक्रममा एन्फालाई गोल्ड क्याटेगोरी अन्तर्गत मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको एन्फाले जनाएको छ । दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीको ग्राण्ड पिस प्यालेसमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उक्त अवार्ड ग्रहण गरे । एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अन्तर्गत प्लाटिनम क्याटेगोरीको अवार्ड जापान फुटबल संघ र डायमण्ड क्याटेगोरीको अवार्ड थाइल्याण्ड फुटबल संघले प्राप्त गर्यो ।
यस्तै रुबी क्याटेगोरीको अवार्ड लाओस फुटबल संघले पायो । एएफसी रिजनल एसविएसन अफ दि इअरको अवार्ड सेन्ट्रल एसियन फुटबल एसोसिएसन (काफा)ले प्राप्त गर्यो । एन्फाले भने फिफा र एएफसीको सिद्धान्तहरू अनुरूप आफ्नो विधान र संहिता विकास गरी सुशासनको उच्चतम स्तर कायम गरेकाले अवार्ड प्राप्त गरेको जनाएको छ । एएफसीको वार्षिक अवार्ड कार्यक्रममा वर्षको उत्कृष्ट खेलाडी प्रशिक्षक लगायत विभिन्न अवार्ड वितरण गरिएको थियो । कतारका अक्रम अफिफले पुरुषतर्फ एएफसी प्लेअर अफ दि इअर अवार्ड पाए भने महिलातर्फ जापानकी किको सेइकेले अवार्ड प्राप्त गरिन् । यस्तै एएफसी कोच अफ दि इअर पुरुषतर्फ जापानका गो ओइवा तथा महिलातर्फ दक्षिण कोरियाका पार्क योङ जोउङले पाए । फिफा अध्यक्ष जियानी इन्फान्टिन्होलाई एएफसी डायमण्ड अफ एसिया सम्मान प्रदान गरियो । एएफसी एसियन कप होस्ट अप्रेसिएसन अवार्ड कतार फुटबल संघ र एएफसी प्रेसिडेन्ट रिकगनिसन अवार्ड फर आउटस्ट्यान्डिङ कन्ट्रिबुसन साउदी अरेबियन फुटबल महासंघलाई प्रदान गरियो ।