१४ महिना जेल सजाय बसेर छुटे महरा
काठमाण्डौं । भेपमार्फत ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राहुल महरा १४ महिना जेल सजाय काटेर छुटेका छन्। केन्द्रीय कारागार जगन्नाथदेवलका कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १४ महिना जेल बसेर उनी कात्तिक १३ गते छुटेका हुन्। उनलाई जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरी जेल सजाय तोकेको थियो। उक्त सजाय भुक्तान गरी उनी छुटेका हुन्। भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २०८० भदौ १३ गते पक्राउ परेका थिए। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले गत असोज २६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो। ८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो। सुन बरामद गरेपछि राहुल महरा, कृष्णबहादुर महरा लगायतले सामान छुटाउन दबाब दिएका थिए। उनीहरूको पनि कनेक्सन देखिएपछि सिआइबीले अनुसन्धान गरेको हो। सिआइबीले उनका बुवा एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि यही प्रकरणमा पक्राउ गरेको थियो। उनको बयान लिएर छाडिएको थियो।