सभापति लामिछानेको रुपन्देहीमा बयान सकियो, आजै पोखरा लगिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान आज सकिएको हो । स्रोतले रवि लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो भने बुधबार र बिहाबार लिखित प्रश्न सोधिएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले लिएको बयानमा आफु सहकारी ठगि प्रकरणमा संलग्न नभएको बताएका छन् । उनले गोरखा मिडियामा सहकारीको रकम आएको बारे जीबी राईलाई नै थाहा भएको बयान दिएका छन् ।
रुपन्देहीमा बयान सकिएपछि लामिछानेलाई आजै पोखरा लैजाने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार मौसमको अनुकुलता भएमा आजै लामिछानेलाई विमानबाट पोखरा लगिने भएको छ । पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।