धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ- ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् ।
बौद्ध विहार संघ ललितपुरको आज अक्षश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रममा उनले धर्म निरपेक्ष हाम्रो मुलुकमा सबैलाई स्वतन्त्रतापूर्वक आफ्नो आस्थाअनुसार धर्ममा लाग्ने अधिकार रहेको तर यसलाई राजनीतिका रूपमा स्वीकार्य गर्न नसकिने दोहोर्याए ।
प्रधानमन्त्रीले धार्मिक सहिष्णुता कायम गर्दै अहिंसा, शान्ति र एकताका साथ धार्मिक अभ्यास गर्नुपर्ने बताउँदै भने, “बुद्ध धर्म र उनका विचारलाई राजनीतिका लागि दुरुपयोग गर्नुहुँदैन । बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवताका लागि हो । कुनै जीवको हिंसा नगर भन्ने बुद्धवादको सार हो । बुद्ध धर्मका शिष्यहरू नै यस धर्मका रक्षक हुन् । हामीले बुद्धवादलाई युवाहरूमाझ फैलाउनुपर्छ । त्यसका लागि म मेरो तर्फबाट सक्दो काम गर्छु । यस धर्ममा करुण, स्नेह र मानवीयता छ । निःस्वार्थपन छ । त्यसैले यसलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निषेध गर्नुपर्छ ।’’
उनले यस अवसरमा बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवर्द्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डुबहादुर बज्राचार्यलाई सम्मान गरे । बौद्ध विहार संघ ललितपुरका अध्यक्ष नानीकाजी शाक्यले पुर्खाहरूले सृजना गरेको बौद्ध धर्मसम्बन्धी सम्पदाले पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान दिएको बताए ।