उमेदवार दिन लागेको कार्यकर्तालाई अन्य पार्टीका कार्यकर्ताले अपहरण गरेको रास्वपाको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दिन तयार पारेका कार्यकर्तालाई अन्य पार्टीका नेता कार्यकर्ताले धाक धम्की दिएको तथा अपहरण शैलीमा अज्ञातस्थलमा लगेको आरोप लगाएको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आइतबार विज्ञप्ति जारी गर्दै उम्मेदवारका लागि तयार रहेकी सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला उनि र उनका श्रीमान् बल थापालाई करिब ४०–४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनाबारे थाहा भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको समेत रास्वपाले जनाएको छ ।

‘रास्वपाका उम्मेदवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीमा अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुन सक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ’, बुर्लाकोटीद्वारा विज्ञप्तिमा भनिएको छ ।

उनका अनुसार उक्त घटनामा स्थानीय नेपाली काँग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको छ । साथै रास्वपाले हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका पार्टीका केही सदस्यहरूलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्ति

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *