झाँक्री भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव आज उठाइँदै
काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज उठाइँदै छ ।
काठमाडौंको इन्द्रायणीमा कात्तिक २८ गते दुर्घटनामा परी कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका घाइते भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको ज्यान गएको थियो । दुर्घटनमा परि घाइते भएका पति नारायण नगरकोटीलाई उपचारका क्रममा अस्पताल पु¥याएपछि अस्पतालले मृत घोषणा गरेको थियो भने उनकी पत्नी सानुमायाको दुई दिनपछि उपचारकै क्रममा मृत्यु भएको थियो । शव व्यवस्थापन तथा काजक्रियाका निम्ति झाँक्री भुजेल र मृतकको परिवारबीच आर्थिक विषयमा विवाद बढेपछि अहिले ग्राण्डी अस्पतालबाट मृतकको परिवारले शव उठाउन मानेका थिएनन् तर लामो समयपछि मृतकका परिवार र भुजेलबिच सहमति भएपछि आज शव उठाउन लागि प्रहरीले जनाएको छ । आइतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा सहमति भएपति आज शव उठाउने निर्णय भएको प्रहरीले जनाएको छ । आइतबार राती उनीहरुबीच जिल्ला प्रहरी परिसर भद्रकालीले सहमति गराएको थियो ।
पहिला मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो । निरन्तरको वार्ता र स्थानीय जनप्रतिनिधिहरूको मध्यस्थतापछि आइतबार ५२ लाखमा सहमति भएको प्रहरीको भनाइ छ । भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनीविरुद्धको मुद्दा भने प्रहरी वृत्त बौद्धले चलाएको छ । उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने भएको प्रहरीले जनायो । ऐनको दफा १६१ को उपदफा ३ बमोजिम उनीविरुद्ध मुद्दा पेश गर्ने प्रहरीको तयारी छ । त्यसअनुसार उनले बढीमा एक वर्षको कैद पाउँछन् । तर, कानुनले २ वर्षसम्मको कैदमा धरौटीमा छुट्ने सुविधा दिएको छ ।