पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिए
काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका अर्यालले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ।आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका डा. अर्यालले कर्मचारीसँग भेट गरेर निस्किएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । ३८ करोड घोटाला भएको भनिएको उक्त प्रकरणका ११ अभियुक्तमध्ये अर्याल नै सबैभन्दा उपल्ला अधिकारी थिए । अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो।
गत कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो ।