गृहिणी बनेबापत हप्ताको १०० डलर तलब
अमेरिकामा एकजना महिलाले आफ्नै पतिसँग हप्तामा १०० डलर तलब लिने गरेकी छिन् । आफ्नै पत्नीलाई हप्तामा १०० डलर शुल्क तिर्नका लागि ती महिलाका पतिलाई पनि कुनै आपत्ति छैन । वास्तवमा ती महिलाले गृहिणी अर्थात् हाउसवाइफ बनेबापत लोग्नेसँग शुल्कको रुपमा तलब लिने गरेकी हुन् । घरमा खाना पकाउने तथा घरको सरसफाइ गर्नेलगायतका घरायसी काम गरेबापत पतिले आफूलाई हप्तामा १०० डलर दिने गरेको ती महिला बताउँछिन् । यस अर्थमा त्यो रकम गृहिणी बनेबापतको उनको तलब हो । २८ वर्षकी एलिसा नामकी ती युवतीले आफूलाई पतिले घरको रेखदेख गर्ने जागिर दिएको बताएकी छिन् । साथै उनले त्यो आफ्नो अहिलेसम्मकै सबैभन्दा राम्रो नोकरी भएको र त्यसबाट धेरै खालका फाइदा पाइरहेको पनि दाबी गरेकी छिन् । आफूले अन्य महिलालाई पनि आफ्नो वित्तीय सफलताका बारेमा बताउने र यस्तै जीवनशैली अपनाउनका लागि प्रेरित गर्ने गरेको उनको भनाइ छ । एलिसाको युट्युब च्यानलमा एक लाख ८२ हजारभन्दा धेरै सब्सक्राइबरहरु रहेका छन् । युट्युब च्यानलमा भिडियोहरू राखेर उनले पारम्परिक गृहिणी बन्नुका फाइदाबारे बताउने गर्छिन् । एलिसाका अनुसार सैनिक सेवामा काम गर्ने बेलामा एलिसा र उनका पति टमको भेट भएको थियो । त्यसबेला दुवैजनाले कामसँगै पढाइ पनि गरिरहेका थिए । त्यहीबेला उनीहरुबीच प्रेम बस्यो । भविष्यमा आफूले आफ्नो करिअर तथा महत्वाकांक्षालाई पछि राखेर एक घरेलु जीवनशैली अपनाउँला भन्ने कुरा त्यसबेला आफूले कल्पनासम्म नगरेको उनी बताउँछिन् । इन्गेजमेन्टपछि एलिसालाई थाहा भयो कि उनका हुनेवाला पति टम उनको घर तथा आफैंप्रति पनि केही बढी ध्यान दिन चाहन्छन् । पतिको त्यो इच्छा पूरा गर्नका लागि उनी जागिर छाडेर एकजना घरेलु महिला बनेर एकजना सामान्य पत्नीको रुपमा घर सम्हालेर बस्नुपर्ने थियो । त्यसो गर्दा दुईको सम्बन्ध सामान्य बन्ने दुवैजना खुसी हुन सम्भव थियो । सोही विचारका साथ गृहिणी बन्ने निर्णय गरेकी एलिसा र टमबीच बिहे भएको दुई वर्ष भयो र उनी आमा बन्ने तयारीमा छिन् । एलिसाका अनुसार सुरुमा उनलाई आफू एकजना भौतिक वैज्ञानको ट्रायथलिट बन्न चाहन्थिन् । त्यो उनको मानसिकता थियो । तर, पछि उनले सन् १९५० को दशकको पारम्परिक जीवनशैली अबलम्बन गर्ने निर्णय गरिन् । डेलीमेलका अनुसार एलिसाले गृहिणी बन्ने निर्णय गर्दा उनका पति टम निकै खुसी भएका थिए । तर त्यसका लागि एलिसाले जागिर छाड्नुपर्ने थियो । त्यसैले त्यसबापत एलिसाले पछिसँग प्रतिहप्ता १०० डलरको तलब माग गरिन् । उक्त रकम उनले आत्मसम्मानका लागि मागेकी थिइन्, ताकि त्यही रकमले कहिलेकाहीँ शपिङ गर्न सकियोस् । एलिसाको त्यो प्रस्ताव टमले सहर्ष स्वीकार गरे । टमका अनुसार एलिसा आर्थिक रुपमा निकै अनुशासित छिन् र फजुल खर्च गर्दिनन् । पत्नीको त्यो निर्णयबाट आफू निकै खुसी रहेको र तनावमुक्त जीवन बाँच्ने मौका पाएको उनी बताउँछन् । एलिसाले पनि सेनामा जागिर गर्दाको तुलनामा आफूले गृहिणी भएर धेरै आम्दानी गरिरहेको भन्दै गृहिणी बन्नु आफ्नो अहिलेसम्मकै सबैभन्दा राम्रो जागिर रहेको बताएकी छिन् । औपचारिक ९ देखि ५ को जागिरभन्दा आफ्नो गृहिणीको जागिर राम्रो भएको भन्दै उनले आफूले एक वास्तविक हाकिमसँग वास्तविक जागिर गरिरहेको बताउँछिन् । आफूलाई कुनैदिन जागिरबाट निकालिने डर नरहेको उनको भनाइ छ । तथापि एलिसाको उक्त जीवनशैलीको नारीवादीहरुले भने आलोचना गरेका छन् । एलिसालाई उनीहरुले अल्छीको आरोप लगाएका छन् र सम्मानित कामको आडमा एकजना सामान्य गोल्ड डिगर बनेको आरोप लगाएका छन् । एलिसाका अनुसार सामाजिक सञ्जालमा उनको आलोचना गर्नेमध्ये अधिकांश महिला ३० वर्ष माथिका अविवाहित महिला हुन् ।