उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको रिट ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको रिट ‘हेर्न नमिल्ने’ भएको छ ।
सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएपनि उक्त रिट ‘हेर्न नमिल्ने’ भएको हो । न्यायाधीशहरू हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलसहितको पूर्ण इजलासमा पेसी तोकिएको थियो । जसपा नेपालका अध्यक्ष यादवले दायर गरेको उक्त रिट गत भदौ १३ गते सर्वोच्च अदालतको संयुक्त इजलासले पूर्ण इजलासमा पठाएको थियो । पूर्ण इजलासमा दुई पटक पेसी तोकिए पनि दुवै पटक ‘हेर्न नमिल्ने’ भएको हो ।
जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
त्यस्तै आफ्नो दल छाडेर जाने ७ सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए ।