आफूलाई पक्राउ पुर्जी जारी गरेकोप्रति इजरायली प्रधानमन्त्रीद्वारा निन्दा
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत ( आईसीसी) ले आफू र पूर्व रक्षामन्त्री योभ ग्यालान्टविरुद्ध युद्ध अपराधको लागि पक्राउ पुर्जी जारी गरेकोमा अदालतको निर्णय “सैन्य विरोधी” भन्दै निन्दा गरेका छन्।
नेतान्याहुले आईसीसीले जानीजानी नागरिक बिरोधी निर्णय गरेको भन्दै झूटो आरोपको अर्थ नभएको दाबी गरेका छन् । नेतान्याहुले नागरिकको हताहतिबाट बच्न आफ्नो शक्तिमा बिश्वास गर्ने भन्दै जसरी पनि आफ्ना देशका नागरिकको रक्षा गर्ने बताएका छन् । आईसीसीले हमासका कमाण्डर मोहम्मद डेफलाई पनि वारेन्ट जारी गरेको छ । डेफलाई इजरायलले जुलाईमा गाजामा मारिएको बताएको छ।
आईसीसीका न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा तीन जना व्यक्तिहरूले युद्ध अपराध गरेको भन्दै हिजो बिहिबार पक्राउ पुर्जी जारी गरेका थिए । यता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायली अधिकारीहरू विरुद्धको आईसीसीको कदमलाई ‘अपमानजनक’ भनेका छन् ।
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो । त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्को मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ । त्यसकारण इजरायलले हमास र हिजबुल्लाहलाई लक्षित गरेर गाजा र लेवनानमा आक्रमण जारी राखेको छ।