मानसिक रोगीहरूको संख्या बढिरहेको छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताए । उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गरे । उनले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरू बढेको बताए । उनले भने ‘बीमाको कभरेज पनि अस्वस्थकर पेरिफेरी बन्यो भने खानेकुरा स्वस्थ छैन, खानेकुरा उत्पादन स्वास्थ्यसँग जोडिएर स्वास्थ्यमैत्री छैन । हावा वायुमण्डलबाट प्राप्त हुने स्वस्थ हावा छैन । सूर्यको प्रकाश विकिरणयुक्त बन्दै गइरहेको स्थिति छ ।
मान्छेको व्यवहार, आनीबानी, प्रतिस्पर्धा ती सबैले तनाव बनाउने स्थिति छ । मानसिक रोग असाध्यै धेरै बढेर गएको स्थिति छ । शारीरिक अङ्गभित्रका रोगहरू भन्दा मानसिक रोग असाध्यै जटिल बनेको छ । त्यसैले यो विषयहरूसँग जोडेर हामीले स्पष्ट निरोधात्मक नीति ल्याउनुपर्छ ।
हामीले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि गर्नुपर्छ । रोग लाग्न नदिने प्रक्रिया के हुन् त्यसको बारेमा अध्ययन गर्न एउटा समिति नै बनाएर काम गर्न चाहन्छौँ । स्वास्थ्य संरचनाहरूले त्यसको लागि के गर्नुपर्छ ? अध्ययन गरेर काम गर्नसक्ने गरी विषयहरू ल्याउने परिस्थिति निर्माण गर्दैछौँ ।’ उनले उपचारात्मक प्रणाली, क्षमता र क्षेत्र बिस्तार भएको बताए ।