हुन्डाई मोटर्सले थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्दै
काठमाडौं । हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन बिस्तार गर्ने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो । नेपाली बजारमा हुन्डाईको क्रेटा ईभी आउने भएपछि कम्पनीले चार्जिङ स्टेशन विस्तार गर्न लागेको हो । क्रेटा ईभीलाई मास मार्केट ईभीको रूपमा लिइएको छ । हुन्डाईले नेपालमा हाल ४५ वटा एसी चार्जिङ स्टेशन गरी सञ्चालनमा ल्याएको छ । कम्पनी जनरल मेनेजर दीपक थपलियाका अनुसार आगामी जनवरीभित्रै नेपालको मुख्य राजमार्गका ३ स्थानमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्न लागिएको छ । देशका अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणका लागि अध्ययन भइरहेको उनले जानकारी दिए । कम्पनीका अनुसार निर्माण गर्न लागिएको डीसी फास्ट चार्जिङ स्टेशन १०० किलोवाट क्षमताको डबल गन रहने छ । अर्थात् एकैपटक दुईवटा ईभी चार्ज गर्न सकिनेछ ।
यस्तै, कम्पनीले जनवरीभित्रै २ वटा भेहिकल टु भेहिकल (भीटुभी) चार्जिङ भ्यान पनि ल्याउने भएको छ । यी भ्यानलाई मोबाइल चार्जिङ युनिटको रूपमा प्रयोग गरिने छ । कुनै पनि हुन्डाईका ईभी चार्ज सकिएर बाटोमै अलपत्र परेमा भीटुभी भ्यान लगेर उक्त ईभीमा चार्ज गरिने बताइएको छ । हुन्डाईले अहिले देशका विभिन्न सहरहरूमा होटल, मल तथा शोरुमलगायत ४५ स्थानमा ७ देखि २२ किलोवाटको एसी चार्जिङ पोइन्ट निर्माण गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको कोना ईभी र आयोनिक ५ बिक्री वितरण गरिरहेकोमा फागुन पहिलो हप्तासम्म क्रेटा ईभी पनि ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।