एकल युवकले पाउने छन् भाडामा प्रेमिका

अहिले मानिसका पेसा व्यवसाय पनि अनौठा खालका छन् । पछिल्लो पुस्ताका युवकयुवतीहरुले कसरी छिटोभन्दा छिटो पैसा कमाउन सकिन्छ भन्ने कुरामा बढ्ता ध्यान दिने गरेका छन् र यसका लागि जस्तोसुकै अपत्यारिलो र असजिलो काम गर्नपनि पछि पर्दैनन् । अमेरिकाको मियामीमा एक युवतीले हालै एउटा यस्तै अफर सार्वजनिक गरेकी छिन् । २९ वर्षीया जेसनिया रेबेकाले यही क्रिसमसमा एकल युवकहरुका लागि शुल्क असुल गरी भाडाकी प्रेमिका बन्ने अफर ल्याएकी छिन् । उनका अनुसार आफूले तोकेको मूल्य तिर्ने पुरुषका लागि उनी एक प्रेमिकाको रुपमा उसका परिवारजनसँग समेत डिनरमा सहभागी हुनेछिन् । आफूलाई पारिवारिक क्रिसमस डिनरमा बनिबनाउ गर्लफ्रेण्ड बन्नका लागि पैसा प्राप्त भयो भने आफू भाँडा धुनसमेत तयार रहेको उनले बताएकी छिन् । रेबेकाका अनुसार जब सिंगल युवकहरु छुट्टीको बेला घरमा जान्छन् तब उनीहरु प्रायः आफ्नो प्रेम जीवनका बारेमा सोधिने प्रश्नहरुबाट बँच्नका लागि अनेक उपाय गर्नुपर्छ । यस्तो परिस्थितिमा रहेका युवकाका लागि रेबेका नक्कली गर्लफ्रेण्ड बनिदिनेछिन् ताकि परिवारजनले आफ्नो छोरा वा भाइ सिंगल रहेको कुरामा चिन्ता गर्नु नपरोस् । मियामीकी बासिन्दा रेबेकाले सोसल मिडियामा आफ्नो क्रिसमस गर्लफ्रेण्ड प्याकेजको घोषणा गरेकी छिन् । उक्त प्याकेज अन्तरगत सबैभन्दा सुपथ सेवाको मूल्य डेढ सय डलर प्रतिघण्टा रहेको छ । आफूले सिंगल युवकहरुको छुट्टीका लागि एउटा उत्कृष्ट सेवा प्रदान गरिरहेको र त्यसमा तीनवटा फरक(फरक प्याकेज रहेको उनले उल्लेख गरेकी छिन् । पहिलो प्याकेजको रुपमा रहेको सिल्भर प्याकेजको शुल्क २५० डलर रहेको छ । साथै यो प्याकेजमा नगदसँगै उनलाई एउटा उपहार पनि दिनुपर्नेछ। त्यसको बदलामा रेबेकाले उक्त केटाको परिवारसँग उसको गर्लफ्रेण्ड जस्तै बनेर २ घण्टा बिताउनेछिन्, जसमा डिनर गर्ने वा चुट्किला सुनाउने लगायतका काम पनि हुनेछन् । त्यस्तै दोस्रो गोल्ड प्याकेजमा तीन घण्टाको समय रहनेछ । यसका लागि साडे ४०० डलर शुल्क तिर्नुपर्नेछ । यसअन्तर्गत जेसेनियाले क्रिसमसको दिन ३ घण्टाको समय सम्बन्धित युवकको घरमा बिताउनेछिन् । त्यसक्रममा उनले सम्बन्धित युवकसँग साँच्चीकै प्रेममा रहेको नाटक गर्दै आफूहरुको भेट कहाँ भएको भन्ने लगायतका मनगढन्ते कहानी पनि भन्नेछिन् । सबैभन्दा प्रिमियम प्याकेज चाहिं प्लाटिनम प्याकेज रहेको छ । यसका लागि ६०० डलर तिर्नुपर्नेछ । यो प्याकेज अन्तर्गत उनी ६ घण्टासम्म एक प्रेमिल प्रेमिका बनेर युवकको घरमा रहनेछिन् । साथै परिवारजनकै अगाडि युवकलाई आइ लभ यु पनि भन्नेछिन् र गालामा चुम्बन समेत गर्नेछिन् । साथै डिनर खाइसकेपछि परिवारका भाँडाकुँडा पनि धुनेछिन् ताकि उनलाई परिवारले निकै समर्पित प्रेमिकाको रुपमा हेरोस् । रेबेकाले आफ्नो उक्त अफरलाई सोसल मिडिया प्लाटफर्म एक्समा शेयर गरेकी छिन् । त्यसमा धेरै प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपयले आफू रेबेकालाई गर्लफ्रेण्ड बनाउनका लागि गोजी खाली गर्न तयार रहेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *