गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
स्पेनमा प्रहरीहरूले गुगल म्याप हेरेर हत्याको घटना सुल्झाएका छन् । ३३ वर्षका एक जना क्युबेली पुरुषको शव स्पेनको काष्टिल एन्ड नियो प्रान्तको एक शहरमा भेटिएको थियो । संक्षिप्त नाम जेएलपीओ नाम गरेका ती पुरुष स्पेनमा काम गरिरहेकी आफ्नी पत्नीलाई भेट्न आएका थिए । स्पेनमा आउने बित्तिकै उनको मोबाइलबाट आफन्तहरूलाई अजीब–अजीब खालको टेक्ष्ट म्यासेज आउन थाल्यो । महिलालाई भेटेको र फोन फ्याक्ने योजना बनाएको भनेर एउटा म्यासेजमा भनिएको थियो । बिस्तारै उनले खोज खबर नै गर्न छाडे । म्यासेज पठाउन बन्द भयो । आफन्तहरूले पनि उनी हराए भन्ने सोचे । गएको वर्ष ताजुएको चिहानमा जेएलपीओको शरीरको एउटा हिस्सा भेटियो । त्यो बेलादेखि नै अनुसन्धानकर्ताहरूले उनको हत्याको रहस्य सुल्झाउन कोसिस गर्न लागे । उनको निर्मम हत्यामा श्रीमतीकै संलग्नता रहेको हुन सक्ने स्पेनी प्रहरीको आशंका थियो । तर यसलाई पुष्टि गर्ने कुनै प्रमाण थिएन । अनुसन्धानका क्रममा प्रहरीले मृतककी श्रीमती स्थानीय पुरुषसँग सल्किएको र दुवैले मिलेर श्रीमानलाई पन्छाउने योजना बनाएको संकेत पाइयो । जेएलपीओको फोन ट्रयाक गर्दा उनी बेपत्ता बनेपछि पनि उनको फोन श्रीमती आसपास रहेको हुन सक्ने देखियो । यस घटनाका पुरुष संदिग्धले बयान दिन आनाकानी गरेपछि प्रहरीको शंका झनै बढ्यो । यो मामिलालाई पुष्टि गर्न स्पेनी प्रहरीले महिनौं संघर्ष गरिरहे । तर सकेका थिएनन् ।
यसैबिच गुगल म्याप्सले एपमा अपडेट गर्यो । एपडेटपछि मुख्य संदिग्ध ठानिएको पुरुषले सेतो लिनेन कपडामा बेरेर रातो रोभरमा ठुलो गुन्टा लोड गरेको तस्बिर एउटा गुगल कारले खिच्यो । गुगल कार ती पुरुष भएर अगाडि बढ्दै गर्दा उनको ढाड क्यामरापट्टी फर्किएको थियो । तर उनी त्यही पुरुष हुन् भन्ने यकिन गर्न सकिने अवस्था थिएन । तर सोही कारले संदिग्धलाई ताजुएकोको मुख्य सडकमा सोही ठुलो प्याकेजलाई ह्विलब्यारोमा हालिरहेको अवस्थामा अगाडिबाट क्याप्चर गर्यो । अनुसन्धानकर्ताहरूलाई खट्केको एउटै कुरा यही थियो कि रातो कारको आसपास ह्विलब्यारो देखिएको थिएन । तर यी दुई कडीलाई जोड्दै जाँदा प्रहरीले मुख्य संदिग्ध नै हत्यारा भएको पत्ता लगाए । यस घटना जेएलपीओको शरीरको बाँकी हिस्सा कहाँ छन्, उनको हत्यामा कुन औजार प्रयोग गरिएको थियो यो अपराध कहिले भयो भन्ने जस्ता कयौँ प्रश्न अझै पनि अनुत्तरित छन् । तर गुगल म्याप्सको तस्बिर लगायत अहिलेको प्रमाणकै आधारमा हत्यारालाई सजाय दिन सकिनेमा प्रहरी विश्वस्त छन् ।