तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण

काभ्रेपलाञ्चोक । धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ ।

गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ । उक्त आयोजनाको मुहानक्षेत्र पनौती नगरपालिका–१२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । आयोजनाबाट तीन हजार दुई सय घरमा खानेपानी वितरण भएको छ ।

हाल धुलिखेलस्थित मुख्य ट्याङ्कीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्याङ्कीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एक/दुई दिन लाग्ने समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले बताए । उनका अनुसार तत्काल अस्थायी रुपमा आयोजना मर्मत गर्न १९ लाख ७९ हजार खर्च भएको छ ।

आयोजनाको स्थायी पुनः निर्माण गर्न तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पुनःनिर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जूको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो ।

जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयनस्वरुप एक करोड ४५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *