शनिबार उत्साहजनक ‘एक्टर : टेक वन’
काठमाडौं । ‘एक्टर : टेक वन’ले शनिबार देशब्यापी ३३० शो प्राप्त गरेको छ । सकारात्मक समीक्षासँगै फिल्मले प्रदर्शन थालेको हो । सार्वजनिक बिदाको दिन देशब्यापी अकुपेन्सी पनि सुखद छ । कानूनी अवरोधको कारण पूर्वनिर्धारित मितिभन्दा २ दिन ढिला रिलिज भएको यो फिल्मलाई लिएर दर्शकमाझ उत्साहजनक पर्खाइ छ । फिल्मको शुक्रबारीय अकुपेन्सी अपेक्षाभन्दा न्यून देखिएपनि निर्माता ‘बलियो वर्ड अफ माउथ’को मद्दतमा पिकअप लिनेमा आशावादी छन् । ‘शुक्रबार साँझदेखि फिल्मले गति लिएको छ । काठमाडौं र उपत्यकाबाहिर पनि शनिबार बिहानैदेखि अकुपेन्सी राम्रो छ’ निर्माता मोती कार्कीले भने, ‘पोजेटिभ माउथ पब्लिसिटीको मद्दतमा फिल्मले अझै गति लिनेमा हामी आशावादी छौं ।’
शनिबार बिहानैदेखि दर्शक भेट्न कलाकार प्रदीप खड्का, राजवल्लभ कोइराला, दिब्या रायमाझी हल–हलमा पुगिरहेका छन् । हल भिजिटमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको अभिनेता खड्काले बताए । ‘उत्साहजनक र पोजेटिभ फिडब्याक छ’ खड्काले भने । दिउँसो लबिल मलस्थित क्यूएफएक्सको हलमा पुग्दा दर्शकले ‘एक्टर’को सिक्वेलको माग गरेको निर्माता कार्कीले बताए । फिल्मको प्रदर्शन सकिने बेला कलाकार हलभित्र छिरेपछि सेल्फी खिच्दै फिल्मको दोस्रो सिक्वेल आउनुपर्ने बताएका थिए । दर्शकले क्लाइमेक्सको प्रशंसा गरेका छन् । फिल्ममा आना शर्मा, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको पनि अभिनय छ । पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् । भुसाल निर्देशक समेत हुन् । अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फिल्ममा निर्माता थमनकुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल छन् ।