जहाज बिग्रिएपछि रेसुंगा विमानस्थलमा उडान बन्द

गुल्मी । रेसुंगा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ ।

विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुंगा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । “एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ”, उनले भने, “फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन”, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए ।

रेसुंगा विमानस्थलमा पछिल्लो पटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास-काठमाडौँ उडान भरेको थियो । बि.सं. २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटा मात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास-काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ-तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *