‘लाज शरणम्’ लाई रिलिजमा देखिएको अन्योल समाप्त, १४ गते नै रिलिज हुने
काठमाडौं । ‘लाज शरणम्’ ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै रिलिजमा देखिएको अन्योल समाप्त भएको हो ।
उच्च अदालत पाटनले कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारिकेचर गरेको सीताराम कट्टेलको भूमिकाको प्रचारप्रसार गर्न रोक लगाएको चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिएको हो । नेपालमा चलचित्र जाँचपास समितिले सेन्सर गरिएका चलचित्रलाई तीन किसिमको प्रमाणपत्र दिनेगर्छ । युनिभर्सल प्रमाणपत्र पाएका फिल्म सबैले हेर्न पाइन्छ भने ‘पीजी प्रमाणपत्र’ पाएका फिल्म बालबालिकाले अभिभावकको निगरानीमा र एडल्ट फिल्म १८ वर्षभन्दा माथिकाले मात्र हेर्न पाउँछन् ।
शुक्रबार सञ्चार मन्त्रालयमा चलचित्रको जाँच गरिएकोमा चलचित्रसँग सम्बन्धित केही कुराहरू मिलाउनुपर्ने भन्दै टोलीलाई आइतबार पनि बोलाइएको थियो । त्यसपछि सबै कुरा मिलाइसकेपछि चलचित्रले प्रदर्शनको अनुमति पाएको हो । चलचित्रको स्क्रिप्ट अध्ययनका क्रममा पनि चलचित्रको विषयवस्तु सामान्य नै पाइएको बताइएको थियो ।
पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै चलचित्रविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि चलचित्रमा आलामको क्याचिकेचर गरिएको सीतारामको भूमिकाको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो । सबैको चासो रहेको पूर्वमन्त्री अफताव आलमको विषयमा भने फिल्ममा त्यस्तो कुनै इस्यु नरहेको भनाइ छ । ‘त्यसमा कुनै इस्यु छैन । हुलिया हो कि हो किजस्तो देखिन्छ । कुनै व्यक्तिलाई तोकिएको पनि छैन । संवाद आलमको जस्तो पनि छैन । यस विषयमा धेरै सोच्नुपर्ने देखिएन । कुनै गम्भीर विषय देखिएन’ बोर्ड सदस्य ऋषिराज आचार्यले भने ।
उनले फिल्ममा धुर्मुसको पात्र कुनै व्यक्ति लक्षित नरहेको बताए । फिल्मको जाँचअघि संचार मन्त्रालयमा बोर्ड पदाधिकारीहरूको बैठक बसेको थियो । जहाँ, सबै सदस्यले फिल्मको स्क्रिप्ट अध्ययन गरेका थिए । स्क्रिप्ट अध्ययनको क्रममा पनि सामान्य नै पाइएको उनले जनाए । मुद्दामामिलाको कारण सेन्सर बोर्डले यो फिल्मको सेन्सरलाई गम्भीरताको साथ लिएको थियो । जसको कारण सेन्सरपूर्व बैठक बोलाइएको थियो ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो । यसमा अर्जुन घिमिरे(पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् । यो चलचित्र यही फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएको छ।
