राजासहितको प्रजातन्त्र हुनुपर्छ- राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परीणत भयो भने आफूहरुले निरन्तर रुपमा विरोध गरिरहने उद्घोष गरेका छन् ।
उनले भने,‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्नेजस्तो जुन यहाँ कुरा राखियो, तपाईंले गणतन्त्र लडेर ल्याएको होस अथवा विदेशीको बुई चढेर ल्याएको होस, त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिराख्छौं ।’
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद लिङ्देनले यस्तो धारणा राखेका हुन् । उनले पाथीभरा क्षेत्र अशान्त भएको र एक प्रकारले रणमैदानमा परिणत भएको बताए । उनले उक्त विषयलाई राज्यले किन अनदेखा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मानवअधिकार आयोगसमक्ष प्रश्न राखे ।
‘आज एउटा व्यापारिक स्वार्थको लागि किन भाइभाई लडाउने काम भैरहेको छ ? किन मन्त्रीस्तरको वार्ता गर्न सरकार तयार छैन ? मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो र ? सरकार जसले लामो समयदेखि योजनावद्ध ढंगले पाथीभरा क्षेत्रलाई व्यापारीको हातमा दिनको लागि योजनावद्ध रुपमा काम गरिरहेको छ भन्ने कुरा मानिसलाई थाहा छ । अहिलेको प्रधानमन्त्रीको नेतृत्वमै सरकार भएको बेला कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरियो, लगत्तै व्यापारीलाई केवलकार बनाउन दिने निर्णय गरियो । तर, जनताले विरोध गरिरहेको अवस्था छ । यो सरकारले सारा शक्ति लगाएर निर्माण गर्न खोजिरहेको छ । त्यो काम अविलम्ब गर्नुपर्छ ।’