चार प्रदेशमा वर्षा, हिमाली भू–भागमा हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । साथै दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।