दुर्गाको काँध चढेर ज्ञानेन्द्र शाहको ताण्डव नृत्य
चैत्र १५ गते शुक्रवार दुर्गा प्रसाईँको काँध चढेर पूर्व राजा ज्ञानेन्द्रले ताण्डव नृत्य देखाउँदा एक पत्रकार र एक सर्वसाधारण बटुवाको मृत्युसहित व्यापक रूपमा जनताको निजी र व्यवसायी प्रतिष्ठाहरूको करोडौँ सम्पत्ति विनाश हुन पुग्यो । आम सर्वसाधारणलाई थाहा छ, यो सबै गर्न लगाउने काम पूर्व राजा ज्ञानेन्द्रको हो। यो विनाशको जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्रले लिनै पर्छ र यसको मूल्य पनि चुकाउनै पर्छ ।
शुक्रवार काठमाडौँमा भएको विरोध प्रदर्शनमा राजतन्त्र समर्थक शक्तिहरूको प्रदर्शन आचरणहीन, असभ्य र हिंस्रक थियो । समाजका सभ्य सदस्यहरूका लागि पटक्कै सुहाउने थिएन । प्रदर्शनकारीहरूको एक मात्र उद्देश्य मानिसहरूलाई आतङ्कित पारेर हिंसा फैलाएर त्यसबाट उत्पन्न अराजकतालाई प्रयोग गरेर वितण्डा मच्चाउने नै थियो । गृह प्रशासनले अनियन्त्रित भिडलाई नियन्त्रण गर्ने काममा कमजोरी भएकै कारण, कम्तीमा दुई जनाको मृत्यु र व्यापक सम्पत्ति क्षति भएको थियो ।नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सय भन्दा बढी प्रहरी सहित प्रदर्शनकारी र सर्वसाधारणतर्फ दर्जनौँ घाइते भएका छन्। स्थानीय मानिसहरूका घरहरू आगजनी, तोडफोड गर्दै लुटिएका छन् । कयौँ व्यवसायीका घरमा ढुङ्गा मुढा गर्दै लुटिएका छन् । छानाछानी मिडिया हाउसहरूमा लक्षित आक्रमणहरू भएका छन्। यी कार्यहरूलाई कुनै पनि हिसाबले न लोकतान्त्रिक न राजनीतिक कार्य मान्न सकिँदैन जुन राजनीतिक उद्देश्यको लागि समर्थन जुटाउनको लागि गरिए पनि त्यो अपराधी कार्य नै थियो। त्यसैले यसमा कुनै यदि वा तर हुन सक्दैन । यी अपराधहरूका लागि जिम्मेवारहरूलाई पक्राउ गरिनुपर्छ र सजाय दिनुपर्छ ।
शुक्रवारको हिंसात्मक घटनाको लागि मुख्यतया जिम्मेवार यी विरोध प्रदर्शनका ’कमान्डर’ नवराज सुवेदी र ’फिल्ड कमान्डर’ दुर्गा प्रसाईँ हुन् । तर शुक्रवारको हिंसामा त्यहाँ अझ ठुलो दोषी पूर्व राजा ज्ञानेन्द्र शाह हुन। शुक्रवारको विरोध प्रदर्शनको नेतृत्वमा माथि उल्लेखित राजतन्त्रवादी नेताहरूले प्रदर्शनको एक दिन अगाडि पूर्व राजासँग गंभिर छलफलमा बसेका थिए। अर्को शब्दमा, शुक्रवारको विरोध प्रदर्शन ज्ञानेन्द्र शाहलाई राजाको रूपमा फर्काउने भग्मदुर प्रयासको अंश थियो। त्यस दिनको मृत्यु र विनाशको अन्तिम जिम्मेवारी पूर्व राजाको हो, उनले ठुलो मूल्य आउने दिनमा चुकाउनु पर्ने नै छ । हो, राजनीतिक दलहरूसँग जनतामा धेरै असन्तुष्टि छ भन्दैमा यो हदसम्म विनाशको परिकल्पना गरेका छैनन् नेपाली जनताले । नेपालका मुख्य राजनीतिक नेताहरूले बारम्बार देशलाई निराशमा मात्र पारेका छन् । भ्रष्टाचार व्यापक छ, सुशासन दिन नसक्दा अनियमितता र सुस्त गतिको विकाशको गतिविधिले आम नेपाली जनता सरकारसँग रुष्ट छन् । प्रधानमन्त्री केपी शर्मा ओली एक राजनीतिक नेता भन्दा अभियन्ता सरि बोल्छन् र त्यही कारण आम मानिसहरू निराश छन् र नेतृत्व परिवर्तन खोजिरहेका छन्, अहिलेका सबै पार्टीका हाईकमाण्ड नेतृत्वबाट । गणतन्त्रप्रति नेपाली जनतामा कुनै विमति छैन । हालैका स्ववियु चुनावी नतिजाहरू र हालैका राजतन्त्र समर्थकको विरोध प्रदर्शनहरूको आकारले राजा फर्किने कुनै विश्वसनीय सङ्केतहरू देखिदैनन । बहुसङ्ख्यक नेपालीहरू बदनाम राज संस्थाको पुनरागमन चाहदैनन । आम जनताको जीवन र सम्पत्ति बचाउनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्छ। यो हदसम्मको हिंसाका मुख्य नाइकेहरूलाई दण्डित गरेर सुरु गर्नुपर्छ। यस मोडमा राजतन्त्रवादीहरूले तर्क गर्न सक्छन् कि एक मात्र विश्वसनीय उपाय भनेको राजतन्त्रलाई ’समायोजन’ गर्नु हो। तर शुक्रवारका घटनाहरू पछि भने राजतन्त्र समर्थक शक्तिहरूले सम्झौताको लागि सोध्ने कुनै पनि नैतिक आधार गुमाइसकेका छन्। सबै विनाशको लागि राजतन्त्रवादीहरू जिम्मेवार हुन भन्ने होइन, यसमा सरकारको पनि ठुलो कमजोरी छ । सुरक्षामा पनि ठुला ठुला त्रुटिहरू थिए। उदाहरणका लागि, सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा र सङ्घीय संसद् भवन नजिकै रहेको तीनकुने जस्तो संवेदनशील स्थानमा प्रदर्शनको लागि किन अनुमति दियो ? भन्ने सवाल टट्कारो रूपमा उठिरहेको छ । गत शुक्रवार, तीनकुनेमा भएको जिउधन र सम्पत्तिमा क्षति पुगेका पीडितहरूलाई तत्काल राहतको लागि सरकार जागरूक हुनपर्छ ।
दुर्गा प्रसाईँले सुरक्षाकर्मीहरूमाथि आफ्नो गाडी चलाउन खोजेको समेत प्रस्ट देखिएको छ तर त्यसता आपराधिक क्रियाकलापमा प्रत्यक्ष सहभागीलाई खुरुक्क भाग्ने सुविधा दिएको देख्दा जनता सरकारर्संग निकै रुष्ट छन् भने शुक्रवारका घटनाहरू पछि, राजतन्त्र समर्थकको विरोध प्रदर्शनमा सहभागी नेताहरूले राजनीतिक रूपमा सबै विश्वसनीयता गुमाइसकेका छन्। सरकार अलोकप्रिय छ, शरकारसँग जनता निराश छन् भन्ने अनुमान गरेर थालिएको राजावादीको आन्दोलन कुनै पनि बेला विसर्जनतर्फ उन्मुख हुने निश्चित छ ।