शान्तिको बाटोमा फर्क

भारत शासित कश्मीरको पहलगमा भएको आतङ्ककारी आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानका ९ स्थानमा आक्रमण गरेको छ । यस घटनाले भारत पाकिस्तान युद्धमा होमिएका छन् । पहलगाम घटनामा पाकिस्तान सरकारको मिलेमतो रहेको आरोप लगाइरहेको भारतले मे ७ तारिखमा ’अप्रेसन सिन्दूर’ नाम दिइएको क्षेप्यास्त्र आक्रमण गरेपछि विश्व जनमत नै स्तब्ध भएको छ ।

भारतको आक्रमणपछि पाकिस्तानले कडा जवाफ दिने बत्ताएको छ भने संयुक्त राष्ट्र सङ्घले भारत पाकिस्तान दुबैलाई संयम धारण गर्न अपिल गरेको छ । भारतले जम्वु श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ, राजकोट आउने जाने सबै उडयान रद्द गराएको छ । पाकिस्तानले पनि पन्जाब प्रान्तका विद्यालयहरू बन्द गराएको छ । युद्धका कारण पाकिस्तान भारत दुवै देशका जनता त्रसित बनेका छन् । पाकिस्तान र भारत युद्धको सुरु दिन नै चार दर्जनभन्दा बढी मानिस मारिएका छन् । भारतको अप्रत्याशित आक्रमणको कडा जवाफ दिने पाकिस्तान सरकारले चेतावनी दिएको छ । आतङ्ककारी हमलासँग दुवै देश मिलेर संयुक्तरुपले प्रतिकार गर्नुपर्नेमा आतङ्कवाद पीडित दुवै देशका सरकार एक अर्को विरुद्ध युद्धमा उत्रिनु दुर्भाग्यपूर्ण छ ।

युक्रेन रुस बिच विगत चार वर्षदेखि चलेको युद्धले गर्दा उत्पन्न सङ्कट झेलिरहेको विश्व अब फेरि भारत पाकिस्तानको युद्धको चपेटामा फस्ने स्थितिमा पुगेको छ । आणविक अस्त्र झम्पन दुई देश बिचको युद्धले मानव जाति नै डरलाग्दो खतराको विन्दुमा पुगेको छ । दक्षिणपुर्व एसियाका दुई शक्तिशाली देश बिचको आमेन सामने आउने यी अवस्थालाई टार्न अब दुवै देशका सरकार जिम्मेवार बन्नु आवश्यक भएको छ । संसारकै उदयमान शक्ति भारतलाई युद्धमा होमेर ध्वस्त पार्ने षडयन्त्रको रूपमा पनि यो युद्धलाई हेर्न थालिएको छ । चीन पछि विश्व शक्तिको बाटोमा अग्रसर भएको भारत केवल पाकिस्तानलाई सबक सिकाउन मात्र युद्धमा होमिएको ठान्नु भुल हुनेछ । त्यसलाई सुनियोजित रूपमा युद्धमा फसाउने चालबाजी हुँदै छ ।
तमिल युद्धमा श्रीलङ्कालाई ध्वस्त बनाएझैँ भारतलाई पनि समाप्त पार्ने चालबाजीको रूपमा यसलाई हेर्नु उपयुक्त हुन्छ । भारतको आफ्ना छिमेकीप्रति हेर्ने नकारात्मक दृष्टिकोण पनि यो सङ्कटको अर्को कारण हुनसक्छ । भारत पाकिस्तानको युद्धले अब आतंकवादलाई प्रोत्साहन मिल्न अवस्था आउन सक्छ । नेपाल, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान लगायतका छिमेकी देशका नागरिक समेत युद्धको चपेटामा परेर आक्रान्त हुन सक्छन् ।

भारत र पाकिस्तानका जनताको अवस्था युद्धका कारण चौपट हुनसक्छ । यस्तो स्थितिमा दुवै देशका सरकारले सुझबुझपूर्ण ढङ्गले आफ्ना निर्णयमाथि पुनर्विचार गर्नु बुद्धिमानी हुन्छ । युद्धले मानव शान्ति, संवृद्धि, विकास, भौतिक सम्पन्नता सबैलाई चौपट पार्छ । मानव अधिकारलाई सम्पूर्ण रूपले सङ्कटमा फसाउँछ । यस्तो जान्दा जान्दै तुच्छ स्वार्थ र अहङ्कारको वारीभुत भएर युद्धमा रमाउनु मूर्खता बाहेक केही होइन । यदि दुवै देशले आफ्नो अहङ्कार त्याग दिन्छन् भने राष्ट्रसङ्घ वा त्यस्तै कुनै अन्तर्राष्ट्रिय निकायलाई मध्यस्थता गराई शान्तिको पहल गर्ने अवसर दिनु र दुवै देशले धैर्यपूर्वक शान्तिको बाटोमा फर्कनु मानव कल्याणका साथै दुवै राष्ट्रको हितमा हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *