मनाङमा ७७.६५ प्रतिशत खर्च
काठमाडौँ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा कूल बजेटको ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ । मनाङमा सङ्घ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कूल रु दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये ७७.६५ प्रतिशत खर्च भएको हो ।
रु एक अर्ब ९२ करोड २२ लाख ४२ हजार बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मनाङमा कूल बजेटमा रु ५५ करोड ३३ लाख अर्थात २३ दशमलव ३५ प्रतिशत बजेट खर्च नभइ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक शालिग्राम सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९मा मनाङमा सङ्घीय कार्यालयतर्फ विनियोजित कूल बजेट रु ७३ करोड ४० लाख ४९ हजारमध्ये रु ६६ करोड ८९ लाख ४२ हजार खर्च भएको छ । यो कूल बजेटको ९१ दशमलव १३ प्रतिशत हो । सङ्घीयतर्फको कूल चालु बजेट रु ६४ करोड नौ लाख ४६ हजारमध्ये रु ५८ करोड ८४ लाख ६३ हजार खर्च भएको उहाँले बताउनुभयो ।
कूल चालु खर्चको ९१ दशमलव ८१ प्रतिशत हो । सङ्घीय पुँजीगत बजेट रु ९३ करोड एक लाख दुई हजारमध्ये रु ८० करोड चार लाख ७८ हजार खर्च भएको छ । सो बजेटको ८६ दशमलव ४४ प्रतिशत खर्च हो । प्रदेश कार्यालयतर्फ विनियोजित कूल बजेट रु ६४ करोड दुई लाख ७१ हजारमा रु ४८ करोड ७७ लाख ८६ हजार मात्रै खर्च भएको छ । कूल बजेटको यो ७६ दशमलव १८ प्रतिशत खर्च हो ।
प्रदेशतर्फको कूल विनियोजित बजेटमध्ये चालु तर्फ रु २१ करोड ६८ लाख चार हजार बजेटमा रु १२ करोड १९ लाख ९१ हजार खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ रु ४२ करोड ३४ लाख ६७ हजार बजेटमा रु ३६ करोड ५७ लाख ९४ हजार अर्थात ८६ दशमलव ३८ प्रतिशत खर्च भएको जनाइएको छ । आर्थिक वर्ष २०७८/७९मा मनाङका चार स्थानीय तहले कूल बजेट रु एक अर्ब १० करोड १२ लाख ९६ हजारमध्ये रु ७६ करोड ५५ लाख १३ हजार खर्च गरेका छन् । यो कूल बजेटको ६९ दशमलव ५१ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । चार स्थानीय तहले चालु तर्फ रु ५८ करोड ५७ लाख बजेटमा रु ३९ करोड ८३ लाख बजेट खर्च गरेका छन् भने पुँजीगतर्फ रु ५१ करोड ५५ लाख ९४ हजार बजेटमध्ये रु ३६ करोड ७२ लाख १३ हजार बजेट खर्च गरेको कोष नियन्त्रक सापकोटाले बताउनुभयो ।
सदरमुकामस्थित चामे गाउँपालिकाले चालु र पुँजीगत बजेट गरी कूल रु ३१ करोड २३ लाख ८४ हजारमा २१ करोड २६ लाख ५५ हजार खर्च गरेको छ । कूल बजेटको ६८ दशमलव शून्य सात प्रतिशत बजेट खर्च हो । नासों गाउँपालिकाले चालु तथा पुँजीगत गरी कूल रु ३० करोड आठ लाख ४२ हजारमा रु २२ करोड चार लाख ३९ हजार बजेट खर्च गरेको छ ।
ङिस्याङ गाउँपालिकाले कूल रु ३० करोड २३ लाख ५३ हजार बजेटमध्ये रु २१ करोड ४४ लाख ७४ हजार खर्च गरेको छ । कूल बजेटको ७० दशमलव ९३ प्रतिशत बजेट खर्च गरेको छ । सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाले चालु तथा पूँजीगत गरी रु १८ करोड ५७ लाख १६ हजार बजेटमा रु ११ करोड ७९ लाख ४४ हजार खर्च गरेको उहाँले बताउनुभयो । पालिकाले यस आर्थिक वर्षमा ६३ दशमलव ५१ प्रतिशत खर्च गरेको कोष नियन्त्रक सापकोटाले जानकारी दिनुभयो ।
सबैभन्दा बढी बजेट खर्च हुने पूर्वाधार विकास कार्यालयले लक्ष्य अनुरुपको खर्च गर्न नसकेको उहाँले बताउनुभयो । पूर्वाधार विकास कार्यालयले कूल बजेट रु १९ करोड ३६ लाख ४४ हजारमध्ये रु १४ करोड ८५ लाख ५३ हजार मात्रै खर्च गरेको छ । कूल बजेटको ७६ दशमलव ७१ प्रतिशत खर्च भएको छ ।
खानेपानी जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयले कूल बजेट रु १२ करोड एक लाखमध्ये रु ११ करोड ४७ लाख बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । भौगोलिक विकटताका साथै पछिल्लो समय इन्धन तथा निर्माण सामग्रीमा भएको अधिक मूल्यवृद्धिले गर्दा विकास निर्माणकार्यमा साविकमा भएको सम्झौता अनुसारको काम निर्माण व्यवसायीले गर्न इच्छुक नसक्दा बजेट खर्च हुन नसकेको कोष नियन्त्रकसापकोटाको भनाइ छ ।
यसका साथै कोभिडको असर जिल्लामा कायमै रहनु, कोभिडको असरले विकास निर्माणका लागि आवश्यक जनशक्तिको अभावले काम गर्न नसक्नु र भौगोलिक विकटताले सामग्री ढुवानी हुन नसक्नुले बजेट खर्च नभएको बताइएको छ ।

















