प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्दा नाराबाजी भएकोमा विश्वप्रकाशको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सदनको रोष्ट्रममा उभिएर सम्बोधन गरिरहँदा विपक्षी सांसदहरूले नाराबाजी गरेकोमा आपत्ति जनाएका छन् । यसलाई उनले संसदीय मूल्यमान्यताको ठाडो उल्लंघन भएको तर्क गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रमाणीकरण भएको र आफ्नो भारत भ्रमणको विषयमा सदनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदा उनलाई बोल्नै नदिई नाराबाजी र रोस्ट्रम घेराउ गर्नु असंसदीय प्रक्रिया भएको उनले बताए ।
सभामुख देवराज घिमिरेले समय दिएपछि बोल्दै शर्माले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरेको र अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सदनमा त्यस विषयमा पक्ष र विपक्षमा बहस गर्नु राम्रो नहुने बताए ।
















