गगन थापा र विश्वप्रकाश बाहेक कोही देखिएन संसदको मर्यादा राखेर बोल्ने नेता

काठमाडौं । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । संसदमा विभिन्न १२ दलका र स्वतन्त्र सांसदको उपस्थिति छ । तर पछिल्लो समय संसदले आफ्नो गरिमा र मर्यादा राख्न नसकेको टिप्पणी हुने गरेको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा एमालेलगायतका सांसदले तमासा देखाए । सम्बोधन गर्न प्रतिनिधिसभाको रोस्ट्रममा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोल्नै नदिएर एमाले, रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गर्न थाले । प्रचण्डले बोल्न लाग्दा पटक पटक अवरोध गरेर एमाले सांसदहरू संसदीय मूल्य मान्यताकै हुर्मत लिए । त्यसपछि कांग्रेस र माओवादीलगायतका सत्ता पक्षका सांसद पनि कुर्सीबाट उभिएर नाराबाजी गर्न थाले ।

त्यही बीचमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संविधान हातमा लिएर सभामुख देवराज घिमिरेसँग आफूलाई बोल्न समय माग गरे । त्यसअघि एमाले सांसद रघुजी पन्तले बोल्दा पनि सत्तापक्षीय सांसदले हुटिङ गरिरहे । पन्तपछि सभामुख घिमिरेले विश्वप्रकाश शर्मालाई बोल्न समय दिए । त्यसपछि होहल्ला चलिरहेको प्रतिनिधिसभा बैठकमा सन्नाटा छायो ।

सांसद शर्माले संविधानमा उल्लेख भएको धाराको अक्षर अक्षर केलाएर नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयलाई प्रस्ट पारे । उनले प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा सुन्ने धैर्यता नराखेर नाराबाजी गर्ने र त्यसको विरोध गर्ने सत्तापक्षका सांसदकै आलोचना गरे ।


शर्माले पाँच मिनेटसम्म संसदमा कसरी प्रस्तुत हुने भनेर सांसदहरूलाई ट्युसन नै लिए । जबकि उनी संसदमा पहिलोपल्ट सांसद बनेर गएका हुन् । शर्माले धाराप्रवाह गरेर शिष्ट ढंगले बोलेपछि सबै सांसद कुल भएका थिए । अनि मात्र रोस्ट्रममा उभिइरहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो पूरा सम्बोधन बाधारहित ढंगले सिध्याए ।

प्रतिनिधिसभा बैठकमा सोमबार एमाले अध्यक्ष केपी ओलीले पनि झन्डै एक घन्टा सम्बोधन गरे । उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणदेखि यावत् कुरामा सरकारको विरोध गरे । आफ्नो सरकारले गरेका विषयमा लम्बेतान भाषण गरे । उनले बोल्दा एमाले, रास्वपा र राप्रपाका सांसदले टेबुल ठटाए । तर, पाँच मिनेट बोलेका कांग्रेस महामन्त्री शर्माका अघि ओलीको भाषण फिक्का सावित भएको विश्लेषण हुन थालेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको भाषणभन्दा अहिले मिडिया र सामाजिक सञ्जालमा विश्वप्रकाश शर्माको भाषणको तारिफ भइरहेको छ । सबैले अहिले विश्वप्रकाशले कांग्रेसका नेता स्व.प्रदीप गिरीको अभावलाई पूरा गर्ने धेरैको टिप्पणी गरेका छन् । जसरी प्रदीप गिरीले बोल्दा संसदमा एकाग्रता छाउँथ्यो सोमबार विश्वप्रकाश बोल्दा त्यही दृश्य देखिएको थियो ।

केही दिनअघि कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदा संसदमा सम्बोधन गरेका थिए । त्यसबेला पनि प्रतिनिधिसभा बैठकमा सबै उनको सम्बोधन सुन्न एकाग्र भएर बसेका थिए । जसको मिडिया र सामाजिक सञ्जालमा तारिफ भएको थियो ।

त्यसैले अब कांग्रेसमा गगन र विश्वले मात्र संसदको गरिमा र मर्यादा कायम राख्नेमा सबै आशावादी देखिएका छन् । आफूलाई धेरै बोलक्कड र सर्वज्ञानी ठान्ने सांसद पनि संसदमा नभएका होइनन् । तर उनीहरूले बोलेको कतै तारिफ हुन्न । ठूलो स्वरले कराउँदैमा र अर्कालाई गाली गर्दैमा नेता भइँदैन । संसदमा बोल्दा तथ्य र प्रमाणसहित बोल्नुपर्ने हुन्छ ।

शिष्ट शैलीमा पनि बोल्न सकिन्छ । जुन कांग्रेसका गगन र विश्वप्रकाश उदाहरण बनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *