आज पनि एमालेले प्रतिनिधिसभा अवरुद्ध गर्ने, प्रचण्ड जवाफ दिन तयार
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दै छ । बुधबारको बैठक एमाले, रास्वपा, राप्रपालगायत दलका सांसदको अवरोधका कारण स्थगित भएको थियो ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक नयाँदिल्ली पुगेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको राजीनामा माग गरेपछि प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित भएको थियो । सभामुख देवराज घिमिरेले आजका लागि बैठक बोलाएका छन् ।
तर एमालेले भने शुक्रबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको छ । एमालेले बिहीबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो । एमाले सांसदहरूले बिहीबार बागमती प्रदेश सभाको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरेकाले उसले आज प्रतिनिधिसभा बैठक चल्न दिने संकेत देखिएको छैन ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको विषयमा संसदमा जवाफ दिनुपर्ने निर्णय गरे पनि पछि राजीनामा माग गरेपछि परिस्थिति फेरिएको हो ।प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग गरेको भन्दै सत्तारुढ माओवादी एमालेसँग आक्रोशित भएको छ । माओवादीले बिहीबार दुईवटा विज्ञप्ति जारी गरेर एमालेप्रति तीव्र आक्रोश व्यक्त गरेको थियो ।
त्यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल एमालेको कदम असंसदीय रहेको निष्कर्ष निकालेको थियो । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा जवाफ दिने निष्कर्ष निकालेको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे सत्तारुढ दलहरुलाई जानकारी गराएका थिए । त्यसपछि शीर्ष नेताहरूले प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने बरु प्रतिनिधिसभा बैठकमा जवाफ दिए हुने भनेपछि उनले सम्भवतः आजको प्रतिनिधिसभा बैठकमा जवाफ दिनसक्ने बुझिएको छ ।















