पोखरा रोयल सहकारीद्धारा मिसन १०० लक्ष्यसहित सदस्यसँग रोयल अभियान
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिसन १०० लक्ष्यसहित सदस्यसँग रोयल अभियान प्रारम्भ गरेको छ । सुखी सदस्य, दिगो सहकारीको परिकल्पनाका साथ अगाडी बढेको संस्थाले चालु आर्थिक वर्ष २०८०।०८१ भर सदस्यसँग सम्वन्धित १०० वटा अन्तरकृया र सदस्य केन्द्रित गतिविधी गर्ने उद्देश्य लिएको छ । सोही अनुार संस्थाले प्रथम श्रृंखलाको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रोशन अर्यालको उपस्थितिमा शुभारम्भ भएको छ ।
संस्थाले गत आर्थिक वर्षमा प्रत्येक महिना संस्थाको प्रधान कार्यालय, तीनवटै सेवा केन्द्र र लघु विभाग अन्तर्गतबाट उत्कृष्ठ भएका सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रमको शुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै रजिष्ट्रार अर्यालले सदस्य केन्द्रित र नीतिगत रुपमा सञ्चालन भएका सहकारी कहिल्यै पनि अप्ठयारोमा नपर्ने बताए । अहिले केही सहकारीमा देखा परेको समस्यालाई लिएर सबै सहकारी उस्तै हुन् की भन्ने भ्रम देखिरहेको सन्दर्भमा पोखरा रोयल जस्तो सहकारीको गतिविधी अन्य सहकारीको लागि अनुशरण गर्न योग्य भएको उनको भनाइ छ ।
संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले सहकारीको समसामयिक गतिविधी र संस्थाको हालको अवस्था र भावी रणनीति बारे प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत ईश्वरी ढकाल, चार्टड एकाउन्टेन्ट राजकुमार फुँयाल, संस्थाका सचिव केशवप्रसाद ढकाल लगायतले संस्थाको गतिविधी र समग्र सहकारी सञ्चालनमा सदस्यहरुको भूमिका र दायित्वको बारेमा सुझाव प्रदान गरेका थिए ।
यसै बीच आर्थिक वर्षको पहिलो दिन नै १ सय ४० जनाले नयाँ सदस्यता लिएका छन् । संस्थाले अभियानलाई सफल बनाउन यस अघि नै १०० युथ सहकारी दुतमार्फत संस्थाको गतिविधीलाई तीव्र पारेको र यो अभियान निरन्तर चलिरहने सूचना अधिकारी मीलन ढकालले बताए ।















