वीर अस्पताल १३४ औं वर्षमा प्रवेश, एक वर्षमा २ दर्जन उपलब्धि
काठमाडौं । वीर अस्पतालले साउन १२ बाट वीर १३४औं वर्षमा प्रवेश गरेको छ । सर्वसाधारण जनताका लागि भनेर श्री ३ वीरशमशेरले १९४६ साल साउन १२ गते स्थापना गरेको वीर अस्पताल मुलुककै सबैभन्दा जेठो र ठूलो अस्पताल हो । पछिल्ला वर्षमा वीरले सर्वसाधारणको उपचारमा थप सेवा र सुविधाका साथै प्रविधि थप्दै लगेको छ । अस्पतालले वार्षिकोत्सवको अवसर पारेर एक वर्षभित्रमा गरिएका केही महत्वपूर्ण उपलब्धि सार्वजनिक समेत गरेको छ । अस्पतालले यस वर्षमा अस्पतालमा रहेका साधारण बेडलाई निःशुल्क गरी सेवा सुरू गरेको छ । प्रयोगशाला सेवा विस्तार, इमर्जेन्सी ल्याबमा (एलआईएस) लागू भइसकेको छ । त्यसैगरी, जाइका भवन अगाडि रगत संकलन केन्द्रलाई विस्तार गरिएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय बिहान ७ बजेदेखि टिकट काउन्टर सञ्चालन गरिएको छ भने अस्पतालका सेवाहरूलाई प्रभावकारी र गुणस्तरीय बनाउन बिहान ८ बजेदेखि नै आवश्यक सेवा सुचारु भएका छन् ।
त्यस्तै, पुरानो पेइङ मेडिकल वार्ड रहेको स्थानमा दाँत भर्ने र कृत्रिम दाँतहरू राख्ने सेवालाई थप विस्तार गरिएको अस्पताल प्रशासनले वार्षिकोत्सवको अवसरमा जनाएको छ । नयाँ सर्जिकल भवनको भुईंतला र सोही भवनको शल्यक्रिया कक्ष अगाडि फार्मेसी सेवालाई थप विस्तार गरिएको छ । इमर्जेन्सीमा ट्रायज स्टिम लागू गरिएको छ भने नयाँ सर्जिकल भवनमा १८ वटा शल्यक्रिया कक्षबाट सेवा विस्तार गरिएको छ । ओपीडी भवनमा रहेको शौचालयहरू मर्मत, अस्पताल परिसरमा बगैंचा निर्माण तथा बस्नको लागि बेञ्च निर्माण र नगद काउन्टरमा हरेक तलामा विस्तार गरिएको अस्पताल प्रशासनले जनाएको छ । त्यस्तैगरी, अंकोलोजी विभागमा ईएमआर स्टिम लागू, चेष्ट युनिट अन्तर्गत स्लिप ल्याव सेवा सुरु, सर्जिकल भवनमा सिटी स्क्यान सेवा गरिएको अस्पताल प्रशासनले महत्वपूर्ण कामको समावेश गरेको छ ।
यस वर्षमा ५ लाख ६६ हजार ९ सय ५७ बिरामीको उपचार लिएका छन् । त्यसैगरी, २२ हजार ३ सय ३९ बिरामीको ठूलो र सानो गरी शल्यक्रिया गरिएको छ । सेवा र सुविधा विस्तारसँगै बिरामीको चाप पनि बढेको अस्पतालले जनाएको छ । अस्पताल निर्देशक डा. सन्तोष पौडेलले विशेषज्ञ सेवामा २४ सै घन्टा विशेषज्ञता सुनिश्चितता गराउने बताए । सघन उपचार कक्षको क्षमता सय बेडमा पु¥याउने, वर्न सेन्टर सञ्चालन, जेरियाट्रिक वार्ड सञ्चालन, विपन्न नागरिकको मुटुको शल्यक्रिया विपन्न कार्यक्रम मार्फत गर्ने योजना छन् । त्यसैगरी, भर्ना भएका बिरामीलाई हरेक दिन दुई पटक विशेषज्ञ राउन्डको सुनिश्चितता र एमआरआईको रिपोर्टिङ तीन दिनभित्र र सिटीको स्क्यानको रिपोर्ट भोलिपल्ट नै प्रबन्ध गर्ने पौडेलले दाबी गरे । डा. पौडेलले सीमित बजेटका कारण महँगा मेसिन मर्मत समयमै र प्रतिस्पर्धात्मक रूपमा गराउन नसक्दा सेवा प्रवाहमा कठिनाई भएको बताए । ‘शल्यक्रिया सेवामा एनेस्थेसियोलोजिष्ट तथा एनेस्थेसिया असिस्टेन्ट जनशक्ति कम हुँदा अप्रेशन सेवा विस्तार गर्न सकिएको छैन’ डा. पौडेलले समस्या सुनाए, ‘मेडिकल अधिकृत दरबन्दीमा विशेषज्ञ चिकित्सक कार्यरत भएकाले २४सै घन्टा सेवामा खटिने मेडिकल अधिकृतको दरबन्दी कम भई थपिएका आईसीयू, एचडीयू साथै आकस्मिक सेवामा जनशक्तिको अभाव छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताए । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाइ महिनामा वीर अस्पतालमा विपन्नदेखि भीआईपीसम्मका बिरामीले महसुस गर्ने गरी काम गरेको बताउँदै मन्त्री बस्नेतले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रूपमा विकास गरेको दाबी गरे ।
वीर अस्पतालका ७ सय शय्या विपन्नका लागि निःशुल्क गरेको, आकस्मिक कक्षमा शय्या संख्या बढाएको, ओपीडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था लागू गरेको, भीआईपी र भीभीआईपी कक्ष दुईबाट बढाएर पाँच पु¥याएको र कर्मचारी समायोजन गरेको लगायत सुधारको महसुस हुने गरी काम भएको बताए । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आईसीयूको संख्या बढाएर सञ्चालन गर्न लागिएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको अनुहार भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने बताइन् । राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, न्याम्सको रजिष्टार डा. ज्ञानेन्द्र शाह, रेक्टर डा. लोचन कार्की लगायतले वीर अस्पतालले प्रदान गरिरहेको सेवाको चर्चा गर्दै यसको सुधारमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए । समारोहमा मन्त्री बस्नेतले उत्कृष्ट कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेका थिए ।

















