प्रतिनिधिसभा बैठक – संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएकोमा विश्वप्रकाशको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएकोमा गुनासो गरेका छन् ।

लामो अवरोधपछि मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै १० दिनसम्म ध्यानाकर्षण गर्ने थुप्रै विषयहरू संसद्मा उभिएर बोल्न नपाएको बताएका हुन् । संसद्लाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले ‘नियमापत्ति’ र ‘आपत्ति’ भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह समेत गरे । नियमापत्ति गरेर यो संसद् अब चल्दैन भनेर भन्दै गर्दा निश्चित धारामा टेकेर उभिनुपर्छ भन्ने शर्माले स्मरण गराए ।

शर्माले भने, ‘नियमापत्ति भन्ने आपत्ति भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह गर्न चाहन्छु । अहिले मैले बोल्दै गर्दा भूकम्प गयो भने भाग्नका लागि नियमको यो पुस्तक पल्टाइराख्नुपर्दैन । जहाँबाट सजिलो हुन्छ त्यहीँबाट लाग्छौँ । यहाँ आपत्ति पर्‍यो । त्यस्तै आगलागी भयो भने सुरक्षित हुनका लागि हामीले धारा खोजिराख्नुपर्दैन । त्यसैले आपत्ति र नियमापत्तिको बीचमा फरक हुनुपर्छ ।’

उनले यो जनताको आस्था भएको संसद् भएकाले यहाँ जति पनि निर्वाचित भएर आएका सांसदहरू छन्, प्रत्येकले प्रश्न गर्न पाउने अधिकार सुरक्षित हुनुपर्छ भन्ने मान्यता राख्नुपर्ने जिकिर गरे ।

उनले देशको विभिन्न स्थानमा बाढी पहिरोले अस्तव्यस्त भएकाले सरकारले त्यस विषयमा आवश्यक कदम चाल्न ध्यानाकर्षण गराए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *