सुनकाण्ड, ललिता निवास, नक्कली शरणार्थी, गिरीबन्धु टीस्टेट प्रकरण सामसुम पार्न खोजिएको भन्दै गगन थापाको आपत्ति
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले ठूला काण्डहरू सामसुम पार्न खोज्नु दुर्भाग्य भएको बताएका छन्।
आइतबार झापाको शिवसताक्षी नगरपालिकाको नगर सम्मेलनमा उनले अहिले चर्चामा रहेको सुनकाण्ड, ललिता निवास प्रकरणको काण्ड, गिरिबन्धु टीस्टेट प्रकरण शीर्ष नेताकै सहमतिमा सामसुम पार्न लागिएको भन्दै आपत्ति जनाए । उनले यी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।
‘एउटाले भन्छ म सुनकाण्डको छानबिन गर्छु। अर्कोले ठूलो कुरा गर्छस् गिरि बन्धु टिस्ट्रेटको फाइल खोल्दिउँ भन्छ। फेरि त्यसले गिरिबन्धुको खोल्यो भने म तेरो शिविर घोटलाको खोल्दिन्छु। अर्कोले भन्छ त्यसो भए सबै मिलौँ केही पनि नखोलौँ। यो पाइन्छ, पाइँदैन,’ उनले भने।
थापाले नेपाली कांग्रेसले यस्ता सबै प्रकारका काण्डको छानबिन गर्न दबाब दिन नहुने बताए। ‘नेपाली कांग्रेसले आज भन्ने कुरा चाहे त्यो यति ओम्नीको फाइल होस्, चाहे त्यो ललिता निवासको होस्, चाहे त्यो सुन काण्डको होस्, चाहे त्यो शिविर घोटलाको होस्,’ उनले भने, ‘जुनसुकै घोटलाको होस्।
जुनसुकै काण्ड होस् सबै काण्डको छानबिन हुनुपर्छ। हाम्रो पार्टीको होस् कि अर्को पार्टीको होस् कि पूर्व प्रधानमन्त्री होस् कि, जुनसुकै ठूलो नेता होस कि, सानो नेता होस् जोसुकै होस् एक जनाले पनि उन्मुक्ति पाउनुहुँदैन। कांग्रेसले भन्नु सक्नुपर्छ। यसमा निर्दोष एक जना पनि पर्नुहुन्न, दोषी उम्किनु हुन्न।’
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध बयान नलिने निर्णय सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको बारे पनि थापाले गलत भइरहेको बताए। ‘ललिता निवास प्रकरणको बारेमा छानबिन चलिरहेको छ। सुन काण्डको विषयमा अनुसन्धानमा चित्त नबुझेको भन्दै एमालेले भनिरहेको छ।
हामी राज्यका संयन्त्र सक्षम छ भनिरहेका छौँ,’ उनले भने, ‘तर मैले समाचार पढेअनुसार हो भने कांग्रेसको महामन्त्रीको रुपमा गम्भीर आपत्ति छ।’