साढे ४ अर्ब लगानीमा ‘कुमारीपाटी स्क्वायर’ बन्दै
काठमाडौं । साढे ४ अर्ब रुपैयाँ बराबरको लगानीमा आवासीय तथा व्यवसायिक अपार्टमेन्ट बन्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ, बृहत् इन्भेष्टमेन्टका ओमराज भण्डारी, चाटर्ड एकाउन्टेन्स नारायण बजाज, व्यवसायी ज्ञानेन्द्रलाल प्रधानलगायतको ४ अर्ब ५६ करोड ७० लाख रुपैयाँ लगानीमा ललितपुरको व्यापारिक केन्द्र ‘कुमारीपाटी स्क्वायर’ आयोजना निर्माण गर्ने भएको छ । आयोजनामा कुमारी होल्डिङ प्रालिको ३५ प्रतिशत, आइएमई डेभलपर्सको १५ प्रतिशत र दिपक मल्होत्राको १५ प्रतिशत स्वामित्व छ । अर्वन पेन्टागन प्रालिमा दर्ता भएको कम्पनीले सुरुमा १ अर्ब ७१ करोड ६० लाख रुपैयाँमा उद्योग दर्ता गरी लगानी प्रतिबद्धता जनाएको थियो । तर, कम्पनीले हालै आयोजना संशोधन गरेर आवासीय तथा व्यवसायिक मोडलको आयोजना निर्माण गर्ने भएको हो । कम्पनीले २ लाख २२ हजार ३ सय २२ स्क्वारफिट क्षेत्रफलमा आवासीय तथा व्यवसायिक मोडलको आयोजना निर्माण गर्ने व्यवसायी मल्होत्राले बताए । कम्पनीले पहिलो चरणको कार्य सम्पन्न गरिसकेको छ ।
कम्पनीले आगामी सन् २०२८ सम्ममा आयोजना सम्पन्न गर्ने योजना बनाएको छ । कम्पनीले आयोजना निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १२ करोड रुपैयाँको रेटिङ गराएको छ। कम्पनीले उक्त क्षेत्रमा आवासीय र व्यवसायिक अपार्टमेन्ट निर्माण गरी बिक्री वितरण गर्ने भएको हो । कम्पनी अनुसार सुरुमा कुमारीपाटीमा ९७ हजार ६ सय ९५ स्क्वायरफिटमा व्यवसायिक कम्प्लेक्स (१२० वटा रिटेल शप) निर्माण गर्ने योजना बनाएको थियो । अहिले संशोधन गरेर आवासीय तथा व्यवसायिक कम्प्लेक्स २ लाख २२ हजार ३ सय २२ स्क्वारफिट क्षेत्रफलमा निर्माण गर्ने भएको हो । जसमा १ लाख ५० हजार ५०२ क्षेत्रफलमा रेन्टल अर्थात् रिटेलर र व्यवसायको लागि छुट्याइएको छ । साथै, उक्त क्षेत्रमा ५५ युनिटको अपार्टमेन्ट निर्माण हुनेछ । कम्पनीले आवासीय र व्यवसायिक अपार्टमेन्ट निर्माणको लागि जग्गा अधिग्रहण गरिसकेको छ । कम्पनी अनुसार उक्त आयोजना नयाँ मोडलमा निर्माण हुने जनाएको छ । उपत्यकामा पछिल्लो समय आवासीय प्रोपर्टीको माग बढ्दै गएको छ । साथै, डेभलपर्सहरुले पनि आवासीय र व्यवसायिक कम्प्लेक्स निर्माणमा जोड दिएका छन् ।
















