वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद नेपालका दलहरूबिच मेलमिलाप छ
काठमाडौं । नेपाली कांग्रेसले ४८ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद नेपालका दलहरूबिच मेलमिलाप रहेको बताएका छन् । उनले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताए । सभापति देउवाले प्रतिस्पर्धाका बाबजुद एक अर्कामा मेलमिलाप र भाइचाराको वातावरण धेरै कम देशमा मात्र रहेका देउवाको भनाइ छ । नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा वातावरण बनाउने प्रयास भएको भन्दै लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र भएको उनले बताए । गणतन्त्र र लोकतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने देउवाको भनाइ थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चतम राजनीतिक व्यवस्था भनेको लोकतान्त्रिक गणतन्त्र मात्र भएको भन्दै यसमाथि प्रश्न उठाउनु कहीँ न कहीँ निरंकुशताको पक्षधरता हुने बताएका छन् । कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले यो गठबन्धनबाट जनतालाई समृद्धि दिनुपर्ने भन्दै आफूले सुरुमै राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि पहल गरेको भन्दै निर्वाचनपछि आफूले कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको बताए । उनले समकालीन दल र तिनका नेता कुनै न कुनै रूपमा वीपी कोइरालाको स्कुलबाट दीक्षित भएको बताए । उनले वीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य र महान् नेता भएको पनि बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसले ०३३ साललाई जोडेर फेरि राष्ट्रिय मेलमिलापको कुरा गरेपछि आफूलाई पहिले मनमा चिसो पसेको तर कार्यक्रममा आए पछि हटेको बताए । अध्यक्ष नेपालले सबैलाई चिन्ता देशको भएको भन्दै यो चिन्ताबाटै कसरी अघि बढेन भनेर मन्थन गर्न चाहिरहेको बताए ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्नासाथ राजावादीहरूको टाउको दुख्ने गरेको बताएका छन् । ओलीले राजावादीको टाउँको दुख्छ भनेर आफूहरू छलफल र सहकार्य गर्न नछोड्ने बताए । उनले राजतन्त्र दरबार हत्याकाण्डका बेलामा नै सकिएको बताए । उनले गठबन्धनका कारण स्वस्थ प्रतिस्पर्धा हुन नसकेको भन्दै प्रतिस्पर्धा स्वस्थ बनाउन नेपाली कांगेसको प्रतिबद्धता चाहिएको बताए । ओलीले अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष गरे । अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउँमा आफूले एउटा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउने कुनै ईच्छा नभएको भन्दै कटाक्ष गरेका हुन् । ओलीले बालकुमारी घटनामा किन गोली चलाएको भन्दै प्रश्न गरेका छन् ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र ‘राँकेभूत’ मात्र भएको भन्दै त्योसँग डराउनु नपर्ने बताए । डा. भट्टराईले जनतामा देखिएको असन्तुष्टि भने तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्नुपर्ने बताए । संविधान सच्याउन राष्ट्रिय सहमति गरेर जानुपर्नेमा उनले जोड दिए । भट्टराईले शासकीय स्वरूपका सन्दर्भमा तीन प्रस्ताव राखे । पहिलो, जर्मनीको मोडलजस्तो प्रमुख दलको संयुक्त सरकार बनाउन उनले प्रस्ताव गरे । भट्टराईले सरकारको स्थिरताका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका हुन् । उनले सरकारलाई पाँचै वर्ष चलाउनका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउनुपर्ने बताए । दोस्रो, स्वीट्जरल्यान्डको जस्तो पूर्ण समानुपातिकमा गएर जसले जति मत ल्याउँछ, सबै सरकारमा बस्नेतर्फ जाने प्रस्ताव गरे । दुवै नसके प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने प्रस्ताव उनको छ ।

















