अमेरिकी ग्रिनकार्ड लिएको देखिएपछि सुनिल र विकल पक्राउ

काठमाण्डौं । नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ। उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। नेपाल राष्ट्र बैंकको अनुमतिबिना उनीहरूले विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको पाएको प्रवक्ता घिमिरेले बताए। उनीहरूले सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको देखिएको पनि अख्तियारले जनाएको छ। अख्तियारका अनुसार विकलले अमेरिकामा स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) लिएको देखिएको हो।

‘विकल पौडेलको हकमा उनले अमेरिकाको स्‍थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई बुधबार पक्राउ पुर्जी दिएर थप अनुसन्धान भइरहेको छ,’ अख्तियार प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनीहरू दुवै जना हाल निलम्बित छन्। विशेष अदालतमा दायर भएका दुई वटा छुट्टाछुट्टै कसुरको मुद्दा विचाराधीन छ। सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्। अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। यसमा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो। विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन्। उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो। अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो। विकल एक्लैविरूद्ध अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *