ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार १२ जनालाई दोषी ठहर गरेको छ । दोषी ठहर हुनेमा जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाल, तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा र सुरेन्द्रमान कपालीसहित १२ जनालाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएकाहरूलाई जनही ७५ लाख जरिवाना र २ वर्ष कैद सजाय सुनाइएको छ । सो जग्गा अब जफत हुने फैसला पनि अदालतले सुनाएको छ । अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको विषयमा २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिव सहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। अख्तियारले नेपाली कांग्रेसका उपसभापति समेत रहेका विजय गच्छदारसहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनि मुख्य प्रतिवादी बनाएको थियो।
















