नेपाली ब्याण्ड नेपथ्यको अमेरिकाको सात सहरमा सांगीतिक यात्रा
काठमांडौ । नेपाली लोकरक ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकामा शृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ । योे नेपथ्यको छैटौं पटकको अमेरिकको यात्रा हो। ब्याण्डले यसपाला आफ्नो गीत सुनाउन अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरका यात्रा गरि भब्य मञ्चहरूमा आफ्नो प्रस्तुती दिनेछ ।
सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरबाट सांगीतिक यात्रा सुरु गर्नेछ । कोलोराडोमा नेपथ्यले पहिलोपटक सांगीतिक यात्रा गर्न लागेको हो । डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोशेली प्रस्तुत गर्नेछ ।
त्यसपछिको दोश्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ ।तेश्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसको ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा अगस्त १७ तारिखमा हुनेछ ।
त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य पुग्नेछ । त्यहाँ सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुनलागेको हो । यसपालि ब्याण्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफुलाई उभ्याउँदैछ । यो कार्यक्रम अगस्त २४ तारिखका दिन हुनेछ ।
त्यसपछि अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ । अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपटक ‘टर्मिनल फाइभ’ मा आफ्ना लोक धुनहरू पस्कने छ । त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ ।
न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्याण्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ१’ को प्रेक्षालयमा आफुलाई प्रस्तुत गर्नेछ ।
यसरी अमेरिकाका फरक फरक सहरहरुमा आफुलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ । ब्याण्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । यसै सहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको शृखलावद्ध यात्राकै अन्तिम अर्थात् सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ । झण्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो ।
नेपथ्य टोली अमेरिका यात्राको अन्तिम तयारीमा जुटिसकेको छ । अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै टिकट काट्न सकिने ब्यवस्था मिलाइएको छ।