भुटानसँग गोलरहित बराबरीमा नेपाल

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फिनिसिङमा चुक्दा नेपाल साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिएको छ। साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल रह्यो । साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी हो । नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा नहुँदा नेपाललाई गोल गर्नै संघर्ष भयो । यस खेलमा सावित्राको अभाव प्रष्ट देखियो । युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियनसिप खेलेर आएकी रेखा पौंडेल दोस्रो हाफमा मैदान प्रवेश गरेपनि गोल गर्न सकिनन् । भुटान विरुद्ध नेपालका दुई खेलाडी घाईते हुँदै मैदान बाहिरिनु नेपालको लागि राम्रो रहेन।

पहिलो हाफको ईन्जुरी टाईममा हिरा कुमारी भुजेल र दोस्रो हाफमा दीपा शाहीलाई स्ट्रेचरबाटै बाहिर ल्याउनुपरेको थियो। पहिलो हाफमा नेपालको फिनिसिङ राम्रो नहुँदा गोल गर्न सकेन । दोस्रो हाफमा नेपालले सुरुवातदेखि आक्रमण गरेपनि गोल निकाल्न सकेन । नेपालले पहिलो हाफमा गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ चुस्त हुन नसक्दा अग्रता लिने अवसर गुमायो। पहिलो हाफमा नेपालको सुरुवात सुस्त रह्यो । नेपालको टिम कम्बिनेसमै समस्या देखिएको थियो । १५ मिनेटपछि भने नेपालले लगातार भुटानमाथि आक्रमण गरेपनि गोल गर्न सकेन । नेपालले पहिलो अवसर १३ औं मिनेटमा पाएको थियो । रश्मी कुमारी घिसिङले बक्समा राम्रो अवसर पाएकी थिईन् । उनले भुटानी डिफेण्डरलाई छलाएर बक्स भित्रबाट हानेको बल भुटानी गोलकिपर संगिता मोनगरले बचाईन् । २० औं मिनेटमा नेपालले अर्को अवसर गुमायो । सविता राना मगरको कर्नरमा गीता रानाले हानेको हेडमा सिक्स यार्ड बक्समा रहेकी नेपालकै अमिसा कार्कीको हेडमा राखेर पोष्टमाथिबाट बाहिरियो । २४ औं मिनेटमा रश्मीले फेरि एकपटक राम्रो अवसर पाएकी थिईन् । रश्मीले बक्स भित्र पाएको बल डिफेन्डरलाई छलाएर प्रहनर गरेको बल पोष्टमाथिबाटै बाहिरियो । त्यसको दुई मिनेटपछि सरु लिम्बुले पनि अवसर गुमाईन् । प्रिती राईले दिएको पासमा बल अगाडि बढाउँदै बक्स भित्रबाट सरुले हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अगता लिने अवसर गुमायो । ४० औं मिनेटमा भुटानी बक्समा नेपाली फरवार्डहरुले लगातार बल पाएपनि फिनिसिङ चुस्त हुन सकेन ।

पहिलो हाफमा नेपालको आक्रमणमा भुटानी डिफेन्स लाईन र गोलकिपर संगिताको प्रदर्शन राम्रो रह्यो । दोस्रो हाफको सुरुमै प्रशिक्षक राजेन्द्र तामाङले रेनुका नगरकोटे र सरु लिम्बुको स्थानमा रेखा पौंडेल र दीपा शाहीलाई मैदान पठाएपछि नेपालले दबाब बनाएको थियो । तर समस्या फिनिसिङमै रह्यो । ५२ औं मिनेटमा नेपालले गोल गर्ने राम्रो अवसर पाएको थियो । तर भुटानी किपर र डिफेन्सले उत्कृष्ट बचाउ गरे ।दीपा शाहीको कर्नरमा रेखा पौडेलले बक्सबाट हानेको प्रहार भुटानी किपर संगिताले बचाईन् । पूर्ण रुपमा क्लियर नभएको बल भुटानकी डिफेण्डर जमयाङ छोडेनले क्लियर गरिन् । नजिकै रहेकी अमिसा कार्कीले केही गर्न सकिनन् ।त्यसपछि पनि नेपालले लगातार भुटानी किपरले उत्कृष्ट बचाउ गरिन् । ८३ औं मिनेटमा नेपाली सविता राना मगरले बक्सबाट हानेको लेफ्ट फुटेड प्रहार भुटानी किपर संगिता मोनगरले उत्कृष्ट बचाउ गरिन् ।ईन्जुरी टाईममा सविता राना मगर अभागी बनिन् । उनले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर बाहिरियो । बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *