०८४ को निर्वाचनलाई ०६४ मा फर्काउने संकल्प गरेको छु : अध्यक्ष प्रचण्ड
काठमाडौं । शनिबार चितवनमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट अलग भएका सबै पार्टीहरूलाई एकताबद्ध गर्ने संकल्प लिएको बताएका छन् । उनले माओवादी धारका सबै दलहरूलाई एकताबद्ध गराएर ०८४ सालको निर्वाचनमा माओवादीलाई ०६४ सालको परिणाममा फर्काउने दाबी गरे । मैले नेतृत्वको हैसियतले आफ्नो ठाउँबाट गर्नुपर्ने सबै काम २०८४ लाई २०६४ मा फर्काउनका लागि गर्ने संकल्प मैले प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा मैले घोषणा गरिसकेको छु ।
एउटा नयाँ मोड नेपाली क्रान्तिको इतिहासमा नयाँ मोड दिने गरी अगाडि बढने संकल्प मैले गरिसकेको छु, तपाईंहरूले सुनिसक्नु भएको छ । उनले समाजवादको उत्पादन आधार तयार पार्न पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको जिकिर गरे । एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको उनको भनाइ छ । उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनेलगायत ऐतिहासिक काम गरिएको पनि बताए ।