‘लाज शरणम्’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ । चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहद्वारा निर्माण गरिएको फिल्म ‘लाज शरणम्’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज चलचित्रका तीन वटा पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष कलाकारहरूलाई देख्न सकिन्छ । एउटा पोस्टरमा विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) र हरिष निरौला (क्रकोज) रहेका छन् । उनीहरू कफिनको फ्रेमभित्र प्रस्तुत रहेका छन् । पोस्टरमा अर्जुन घिमिरे पाँडेकै गेटअपमा देखिएका छन् । अर्को पोस्टरमा हरिष र विजय छन् । यसमा विजय हरिषको ढाडमा बसेर शंख फुकिरहेको देखिन्छन्। तेस्रो पोस्टरमा हातमा तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन्। उनको अगाडि हिमाल र त्यसको काखमा बस्ती देखिन्छ। ‘लाज शरणम्’ ले गम्भीर विषयलाई रमाइलो तरिकाले कथा भन्ने पोस्टरले संकेत गरेको छ।
यो चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदै छ । यो चलचित्रलाई कुमार कट्टेल (जिग्री) निर्देशन गरेका छन् । चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा नवीन श्रेष्ठ छन्। राम नरेश शाह र श्रीजना खड्का यसको सह–निर्माताको रूपमा छन्। फिल्मको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले किनेको छ । नेपालमा भने फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।
















