पाथीभरा केबलकार विवाद- अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित
काठमाडौँ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा शुरु भएको विवादका कारण अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको छ ।
बन्दका कारण ताप्लेजुङसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दको छैटौं दिन आइतबार पनि ताप्लेजुङसहित ९ जिल्लाका छोटो तथा लामो दूरीका यातायात प्रभावित भएका छन् । बन्दका कारण दैनिक उपभोग्य वस्तुको अभाव समेत सृजना हुन थालेको छ । स्थानीय व्यवसायीहरुले बन्दका कार्यक्रम फिर्ता लिएर जनजीवन सामान्य बनाइदिन आन्दोलनरत पक्षसँग तथा आन्दोरत पक्षसँग वार्ता गरी समस्याको निकास खोज्न सरकारसँग पटक–पटक आग्रह गरेको छ ।
साथै व्यवसायीहरुले आन्दोलरत पक्षका मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था याक्थुङ सयङ सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघलाई ध्यानाकर्षण पत्र लेख्दै बन्दका कार्यक्रमले जनजीवनमा पुर्याएको असर बुझेर बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
आन्दोलनरत पक्षले केबलकार खारेज हुनुपर्ने मुख्य सर्त अघि सारेर प्रारम्भिक चरणमा केबलकार निर्माण क्षेत्रबाट निर्माण उपकरण र सुरक्षाकर्मी फिर्ता हुनुपर्ने र पक्राउ कार्यकर्ता रिहा हुनुपर्ने सर्त अघि सारेका छन् ।















