सहारा नेपाल साकोसको ३० औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको ३० औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । संस्थाको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा सहारा नेपाल साकोस स्थापनाकालदेखि वर्तमान सम्म आइपुग्दाको दुख र सफलताका अभ्यासहरूको चर्चा गरिएको थियो । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा लीलादेवी सिटौला सृजनशील नागरिक अक्षयकोष मार्फत पाँचवटा सामाजिक सेवामूखी संस्थालाई जनही १० हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ । तारा नमस्ते बालग्राम, अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र, परोपकार तथा अनुसन्धान केन्द्र, सुस्त मनस्थिति सरोकार समाज नेपाल र नेत्रहीन सङ्घ झापालाई सहयोग प्रदान गरिएको हो । अक्षयकोष दाता परिवारहरू राम सिटौला, डिल्लीराम सिटौला लगायत परिवारका सदस्यहरूले सहयोग रकम प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको आर्थिक र सामाजिक अवस्थाको बारेमा जानकारी गराएका थिए । गिरीका अनुसार २०५२ सालमा स्थापना भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आर्थिक स्थायित्व र सामाजिक उत्तरदायित्वको नयाँ उचाइ छुने सफलता हासिल गरेको छ । स्थापनाकालमा ३३ जना शेयर सदस्य र ३४ हजार रुपैयाँको शेयर पूँजी बाट सुरु भएको यो संस्था आज १ लाख ९० हजार शेयर सदस्य सम्म पुग्न सफल भएको छ । संस्थाले हालसम्म १ अर्ब ७० करोडको शेयर पूँजी, १ अर्ब ३० करोडको संस्थागत पूँजी, १३ अर्ब ७५ करोडको बचत सङ्कलन, र ११ अर्ब ५० करोडको ऋण लगानी गरेको छ । महत्वपूर्ण उपलब्धिको रूपमा, संस्थाको बाह्य ऋण शून्य रहेको छ भने झण्डै १८ अरबको वासलात रहेको छ । संस्थाका प्रथम उपाध्यक्ष छविलाल खतिवडाले स्वागत गरेका थिए । सल्लाहकार आशा शर्मा शिवाकोटी, केशवप्रसाद ओझाले शुभकामना मन्तव्य राखे । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष डम्बरबहादुर देउजाले गरेका थिए ।















