दुई तिहाइ सरकारको बेलुन फुटिसक्यो- प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् ।
आज सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न नसकेको उनले सरकारको कडा आलोचना गरेका हुन् । ‘दुई तिहाइको अहङ्कार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ प्रचण्डले भनेका छन् । हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हाबी भएको भएको प्रचण्डको आरोप छ ।
उनले भने, ‘जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेका छन् ।’ प्राविधिक रूपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको प्रचण्डको भनाइ छ ।
















