विश्वकप लिग २ का दुई खेलपनि नेपालले जिते के हुन्छ ?

काठमाण्डौं । आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग टुमा नेपालले लगातार दोस्रो जित निकाल्यो । २ जूनमा स्कटल्यान्ड र जुन ४ तारेखमा नेदरल्यान्ड्समाथि शानदार जितसँगै नेपाली टोलीले अंकतालिकामा केही सुधार गरेको छ । नेपालले ८ जुनमा फेरि स्कटल्यान्डसँग र १० जुनमा नेदरल्यान्डसँग खेल्ने छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात् ओडीआई क्रिकेट प्रतियोगिता हो । यसले आईसीसी विश्वकपमा स्थान सुरक्षित गर्ने बाटो खोल्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसीले० बनाएको छनोट प्रणालीकै एउटा हिस्सा हो, लिग २ । तर, यो प्रतियोगिता आईसीसी विश्वकपतिर लम्किने बाटो मात्र पनि होइन, अन्तर्राष्ट्रियस्तरमा टिमलाई एक्स्पोजर दिने, निरन्तर खेल्ने मौका दिने, उदाउँदा राष्ट्रलाई विश्वमञ्चमा पुग्ने न्यायपूर्ण अवसर दिने प्रतियोगितासमेत हो । सन् २०२७ को आईसीसी विश्वकपमा १४ टोली सहभागी हुनेछन् । यसमा आयोजक राष्ट्रहरू (दक्षिण अफ्रिका र जिम्बाब्वे) अनि शीर्ष ८ ओडीआई टिम स्वतः छनोट हुनेछन् । बाँकी ४ स्थानका लागि विश्वकप क्वालिफायरमार्फत प्रतिस्पर्धा हुनेछ, जसमा लिग २ बाट शीर्ष चार टोलीहरू सहभागी हुनेछन् । एसोसिएट राष्ट्रहरूले नियमित र प्रतिस्पर्धात्मक ओडीआई खेल्न पाऊन् भनेर सन् २०१९ देखि विश्वकप लिग २ सुरु गरिएको हो । यो प्रतियोगितामा आईसीसीको पूर्ण सदस्य नभएका तर क्रिकेटमा बलिया एसोसिएट राष्ट्रहरूले खेल्छन् । अहिले नेपालसहित स्कटल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स, यूएसए, ओमान, यूएई र क्यानडा गरी ८ राष्ट्र लिग २ का प्रतिस्पर्धी हुन् । यी टोलीले तीन वर्षको अवधिमा राउन्ड रोबिन फर्म्याटमा खेल्छन् । विश्वकप २०२७ का लागि त्रिकोणात्मक एकदिवसीय सिरिज सन् २०२४ देखि सुरु भएको हो र २०२६ सम्म चल्नेछ । त्रिकोणात्मक सिरिजमा तीन टिमबीच प्रतिस्पर्धा हुन्छ । कुल मिलाएर २४ वटा यस्ता सिरिजहरू हुनेछन् । हामीले अघि नै भन्यौँ, लिग २ जितेर कुनै टोली सिधै विश्वकप खेल्नका लागि योग्य हुँदैन । यसपछि विश्वकप छनोट प्रतियोगिता पनि पार गर्नुपर्ने हुन्छ । अझै सजिलो भाषामा भन्ने हो भने लिग २ लाई तपाईं लामो प्रतियोगिताको सेमिफाइनल चरण भनेर बुझ्न सक्नुहुन्छ । यहाँका टोलीले आफूलाई अब्बल प्रमाणित गरे भने मात्र विश्वकपको यात्रामा एक कदम नजिक जान सक्छन् । विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज ३ फागुन २०८० देखि कीर्तिपुरको त्रिवि मैदानमा सुरु भएको थियो, जहाँ नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भयो । तीन वर्षभित्र आठ एसोसिएट टिमले नौरनौवटा सिरिज खेल्ने तालिका छ । हरेक सिरिजमा एक टिमले ४ खेल खेल्नेछ । यसपल्ट दुई खेल खेलिसकेको नेपालले अझै दुई खेल खेल्न बाँकी छ । लिग–२ मा प्रत्येक टिमले ३६ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्छन् । एउटा टिमलाई एक वर्षमा तीन सिरिज खेलाउने आईसीसीको तालिका छ । यो तालिकाअनुसार, प्रत्येक टिमका लागि एक वर्षमा एक सिरिज होम अनि बाँकी दुई सिरिज अवे हुनेछन् । यस हिसाबले तीन वर्षमा एक टोलीले नौ सिरिज खेल्नेछ । यीमध्ये तीन सिरिज घरेलु मैदानमै हुन्छन् भने बाँकी ६ सिरिज अरु देशमा गएर खेल्नुपर्नेछ । यसअघि त्रिवि मैदानमा खेलेको नेपाल यतिबेला स्कटल्यान्डमा खेलिरहेको छ । २०८० सालमा घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेपछि नेपाली टिम अमेरिका र क्यानडा पुगेको थियो । त्यसपछि नेपालले अमेरिकामा घरेलु टिमसहित स्कटल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो । सन् २०२५ र २०२६ मा गरी नेपालले ६ सिरिज खेल्नेछ । आठ एसोसिएट टिमले कुल १ सय ४४ ओडीआई खेल खेल्छन् । यसपछि शीर्ष चारमा पर्ने टिमले आफ्नो एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा स्थान सुरक्षित गर्छन् । यसरी विश्वकप क्वालिफायरमा पुग्ने चारमध्ये दुई टिमले विश्वकप खेल्नेछन् । लिग २ का सम्भवतः पाँचौँ र छैटौँ वा चारवटै टिमले आईसीसी च्यालेन्ज लिगको ए र बीका विजेतासहितको प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । आईसीसी विश्वकप च्यालेन्ज लिग अहिलेको विश्वकप लिग २ भन्दा तल्लो स्तरको प्रतियोगिता हो । विश्वकप क्वालिफायर प्लेअफबाट शीर्ष २ टिम विश्वकप क्वालिफायरका लागि छानिनेछन् । नेपाल अहिले विश्वकप लिग २ को सातौँ स्थानमा छ । आठ टिममा नेपालले सबैभन्दा कम १४ खेल मात्रै खेलेको छ । नेपालभन्दा तल यूएई छ, जसले धेरै खेल हारेको छ । नेपाललाई लिग २ मा स्थान बलियो पार्न निरन्तर जितको खाँचो छ । किनकि, टिमले अघिल्ला सिरिजमा राम्रो गर्न सकेको छैन । विश्वकप लिग २ मा नेपाल शीर्ष ४ मा पर्न सकेन भने क्वालिफायरका लागि क्वालिफाइ हुँदैन । त्यसो हुँदा शीर्ष ४ मा नपरेका अरु ४ टिमबीच क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । यसमा समेत उत्कृष्ट हुन नसके नेपालको ओडीआई स्टाटस गुम्न सक्छ । २ जूनमा स्कटल्यान्डलाई १ विकेट र ४ जूनमा नेदरल्यान्ड्सलाई ५ विकेटले जितेसँगै सातौँ स्थानमा १० अंकसहित नेपालको नेट रनरेट सुधारिएको छ । ४ अंक जोडेर नेपाल अन्तिम स्थानबाट माथि उक्लेको छ ।

सँगै २० अंकसहित तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्ड र १४ अंकसहित छैटौँ स्थानको नामिबियासँग दूरी घटाएको छ । सन् २०२३ पछि पहिलो लगातार दुई एकदिवसीय जितले टोलीको मनोबल पक्कै बढाएको छ, खासगरी नयाँ प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा । यसपल्टको सिरिजमा अब नेपालले दुई खेल खेल्न बाँकी छ । दुवै जितेमा १४ अंकका साथ नेपाल छैटौँ स्थानमा उक्लन सक्छ । तर, विश्वकप क्वालिफायरमा पुग्न नेपालले बाँकी २२ खेलमध्ये लगभग ८० प्रतिशत जित्नुपर्ने हुन्छ । असफल भएमा नेपाल च्यालेन्ज लिगमा झर्न सक्छ । च्यालेन्ज लिगको शीर्ष २ मा पर्न असफल भएमा ओडीआई मान्यता पनि गुम्न सक्छ । तर, नेपाली टिमले संकटको क्षणलाई पनि पन्छाएको विगत छ । सन् २०१९ देखि २०२३ मा अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गरेर नेपालले स्थिति सुधार गरेको थियो । त्यसैले आगामी खेलमा निरन्तर जित निकाल्न सके विश्वकप क्वालिफायरको सम्भावना जीवित छ । सन् २०२७ को एकदिवसीय विश्वकपपछि आईसीसीले थप दुई एसोसिएट देशलाई पूर्ण सदस्यका रूपमा बढुवा गर्ने योजना बनाएको छ । यसका लागि पनि नेपालले कठिन मिहिनेत गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *